Skip to content

मुख्य सिजनमा बाढी पहिरोले विध्वंस: पर्यटक क्षेत्रमा तत्कालीनसँगै दीर्घकालीन क्षति झन डरलाग्दो

काठमाडौं । गत भदौ १० गते भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढी तथा त्यसपछिका पहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी)ले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार पर्यटन पूर्वाधार, होटेल तथा पर्यटन व्यवसाय, यातायात, पदमार्ग र पर्यटक व्यवस्थापन लगायतका क्षेत्रमा उक्त रकम बराबरको क्षति भएको हो ।
बोर्डका कार्यकारी सदस्य एवं क्यूआरटी संयोजक सहदेव धमलाको समूहले तयार पारेको प्रतिवेदनले उक्त विषय उल्लेख गरेको हो । बाढी तथा पहिराले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका पर्यटन क्षेत्र प्रभावित भए । होटेल व्यवसाय, पर्यटन पूर्वाधार, यातायात पहुँच, पदमार्ग तथा पर्यटक व्यवस्थापनमा भएको क्षतिले पर्यटन गतिविधि र व्यवसाय सञ्चालनमा असर पारेको बोर्डको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार बाढी पहिरोका कारण वैदेशिक पर्यटनबाट हुने आम्दानी १४ अर्ब ६० करोड २४ लाख ६४ हजार तथा पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ ।
यस्तै लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म ६०६ जना विदेशी सम्पर्क विहीन रहेको तथ्याङमा उल्लेख छन् ।
यो घट्ना भदौ १० गतेको मात्रै हो । त्यसपछि असोज ८ देखि १० गत सम्म परेको अविरल वर्षा र त्यसले पारेको क्षतिको विवरण उल्लेख छैन । असोज २५ गते बुढीगण्डकीमा आएको बाढीले पनि क्षति पुर्‍याएको छ । त्यसको लेखाजोखा हुन बाँकी नै छ ।
पर्यटकका लागि यो भनेको निकै सिजनको बेला हो । सिजनको बेला आएको बाढी पहिरो, अविरल वर्षाका कारण तत्काल हेर्दा ५२ अर्ब ६७ करोड ४५ लाख रुपैयाँको क्षति भयो । यो अहिलेको त्रास हो । त्यो भन्दा पनि ठुलो त्रास दीर्घकालसम्म रहनेमा छ  ।
अहिले बाढी पहिरोले सबै क्षेत्रमा क्षति पुर्‍याउँदा यो क्षेत्र पनि प्रभावित भएको छ । तर यस्ता घट्ना बढ्दै जाने हो भने दीर्घकालमा नेपालमा आउने पर्यटकलाई आकर्षित कसरी गर्ने भन्ने चिन्ता बढ्न थालेको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डे पर्यटक क्षेत्रमा अहिले तत्काल देखिने भन्दा पनि तत्काल नदेखिने दीर्घकालमा देखिने खालको क्षति धेरै भएको बताउँछन् ।
“अहिले पर्यटकको सिजन र चाडपर्वको मुखका आएको प्राकृतिक विपत्तीका कारण देखिने भन्दा पनि नदेखिने खालको क्षति धेरै भएको” उनले भने । उनको भनाइसँग गुरु ट्राभल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवराज धरेल पनि सहमत छन् । पछिल्लो समय आएको बाढी पहिरो आसपासको समयमा नेपालमा आउन टिकट लिएका पर्यटक आएको, टिकट फिर्ता गर्नेहरूले नेपालको विकल्प खोजेको उनको भनाइ छ ।
“विदेशीहरूका लागि घुम्न विकल्प धेरै छन्” सीईओ धरेलले भने “अहिले प्राकृतिक विपत्ती र संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको तर्फबाट प्रधानमन्त्री वालेन्द्र शाहको मन्तव्यले समेत नेपालको धेरै राम्रो प्रचार भएको छ । अब सरकारलाई नेपालका पर्यटकीय क्षेत्रलाई राम्रोसँग प्रचार प्रसार गर्न सकेन भने दीर्घकालमा समस्या हुन्छ ।”
आगामी दिनमा यहाँका नराम्रा कुरालाई देखाएर पर्यटक आउनु डराउने भन्दा पनि हामी सुरक्षित छौ है भनेर देखाउने पर्ने व्यवसायीहरूको संयुक्त आवाज रहेको छ । भूकम्पको समयमा पर्यटक क्षेत्र छिटै पुरानै अवस्थामा आएको स्मरण गर्दै नाट्टाका अध्यक्ष पाण्डे अहिलेको अवस्थाबाट पनि छिटै बाहिर निस्कन सक्ने उनको दाबी छ ।
अहिले विदेशी पर्यटकसँगै बाटोमा आएको बाढी पहिरोका कारण आन्तरिक पर्यटक पनि घुमफिरका लागि निस्कन पाएका छैनन् ।
आन्तरिक पर्यटकले जहाज चढेर यात्रा तय गर्न वित्तीय अवस्थाले नदिने, सडक यात्रा गर्न बाटोमा सुरक्षित महशुस हुन नसकेको उनको भनाइ छ । यो बेलामा पनि विदेशमा नराम्रो सन्देश गएको छ ।
अल्पाइन टुर एन्ड ट्राभल्सका सञ्चालक प्रदीप पण्डित भदौ १० गते आएको बाढीले नेपाल र चीनको सीमादेखि नै पारेको क्षतिका कारण पर्यटक क्षेत्रमा बढी असर गर्ने बताउँछन् । पर्यटकहरू मानसरोवर जाने मुख्य समयमा आएको बाढीले धेरै नै असर पारेको उनको भनाइ छ ।
नेपालबाट कैलाश मानसरोवर घुम्ने जाने पर्यटक पनि रसुवा हुँदै जाने गर्छन । बाढीका कारण क्षति भएको सीमा नाका नखुलेसम्म पर्यटकीय क्षेत्रमा असर देखि नै रहनेछ । “कैलाश मानसरोवर नेपालीका लागि राम्रो गन्तव्य रहेको थियो । लगातार आएको बाढी पहिरो, बर्षाका लागि त्यो रोकिएको छ” उनले भने “नाका नखुलेसम्म त्यसको असर देखिरहने छ ।”
नेपाली आन्तरिक पर्यटकका लागि अप्पर मुस्ताङ, मुक्तिनाथ, पुन हिल लगायतका गन्तव्य पनि छन् । लगातार परेको झरी र बाढी तथा पहिरोका कारण यी गन्तव्यमा यात्रा गर्नेहरू डराएका छन् ।
 यो सिजनमा विदेशबाट पर्वतीय पर्यटक आउने र आन्तरिक पर्यटकको गतिविधि बढ्ने गर्दथ्यो । यो वर्ष आएको बाढी पहिरोले धेरै सबै रोकिएको छ ।
दसैँको समयमा आएको बाढी पहिरो, अविरल बर्षाका कारण ट्राभल्स तथा पर्यटकीय क्षेत्रमा धेरै नै असर परेको र यसको असर लामो समयसम्म रहने देखिएको  गुरु ट्राभल्स प्रालिका सीईओ धरेलको भनाइ छ । उनका अनुसार ट्राभल्स क्षेत्र पुरानै अवस्थामा फर्कन मौसम, प्रकृतिले साथ दिएको खण्डमा करिब २ वर्ष लाग्ने छ ।
कोरोनाको समयमा शतप्रतिशत घटेको यो क्षेत्र अहिले करिब २५ प्रतिशत असर पर्ने व्यवसायीहरूको भनाइ छ । चाडपर्वको समयमा नेपालमा विदेशी पर्यटक आउनुका साथै नेपाली पनि थाइल्यान्ड, मलेसिया, सिंगापुर, बाली, चीन लगायत देशमा जाने गरेका छन् ।
हाल संयुक्त अरब इमिरेट्स (युएई)ले भने पर्यटकलाई रोकेको थियो । त्यही भएर नेपाली अन्य देशमा जान थालेका छन् । नेपालीका लागि विदेश जाने गन्तव्यका रूपमा थाइल्यान्ड रहेको थियो । तर पछिल्लो समय यता पनि समस्या सृजना भएको छ । पहिला ५० हजारमा पाउने टिकट समेत अहिले ९० हजार पुगेको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) ले थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा ढिलाइ, अनिश्चितता र अग्रिम बुकिङका कारण नेपाली यात्रु तथा ट्राभल व्यवसायीले ठुलो आर्थिक जोखिम बेहोर्नुपरेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेको छ  ।
नाट्टाले भिसा प्रक्रिया पारदर्शी, व्यावहारिक र समयबद्ध नबनाइए थाइल्यान्डको पर्यटन प्रवर्द्धन तथा नयाँ पर्यटकीय प्याकेज बिक्री स्थगित गर्न बाध्य हुने चेतावनी दिएको छ ।
नाट्टाका अनुसार थाइल्यान्डको भिसा आवेदन प्रक्रियामा भिसा स्वीकृत हुने सुनिश्चितता नहुँदा पनि आवेदकले अग्रिम हवाई टिकट र होटेल बुकिङ पेस गर्नुपर्ने बाध्यता छ । थाई एयरवेज र थाई लायन एयरलगायतका वायुसेवाका सस्तो भाडाका टिकटमा रकम फिर्ता नहुने वा टिकट रद्द गर्दा उच्च शुल्क लाग्ने व्यवस्था भएकाले यात्रु तथा व्यवसायी थप आर्थिक जोखिममा परेको छ ।
सम्पूर्ण कागजात पेस गर्दासमेत भिसा अस्वीकृत हुने वा निर्धारित यात्रा मिति सकिएपछि मात्रै निर्णय आउने घटनाले नेपाली यात्रु र व्यवसायीको लाखौँ अमेरिकी डलर बराबरको रकम जोखिममा परेको नाट्टाको भनाइ छ । त्यही भएर प्याकेज बिक्री स्थगित गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
नाट्टाले सम्भावित कदमका रूपमा थाइल्यान्डका नयाँ पर्यटकीय प्याकेजको बिक्री, वितरण तथा प्रवर्द्धन पूर्ण रूपमा रोक्ने, विज्ञापन तथा डिजिटल बजार प्रवर्द्धन बन्द गर्ने र नयाँ समूहगत बुकिङ तथा नियमित पर्यटकीय भ्रमण कार्यक्रम सञ्चालन स्थगित गर्ने जनाएको छ ।
भिसा प्रक्रियासम्बन्धी वास्तविक अवस्था स्पष्ट पार्न, आवश्यक छानबिन गर्न र नेपाली यात्रु तथा व्यवसायीलाई थप आर्थिक क्षतिबाट जोगाउन व्यावहारिक समाधान खोज्न पनि नाट्टाले माग गरेको छ ।
थाइल्यान्डलाई नेपाली आउटबाउन्ड पर्यटनको कालोसूचीमा राख्ने नाट्टाको चेतावनी लगत्तै नेपालस्थित रोयल थाई राजदूतावासले समस्या समाधानका लागि आफ्नो सक्रियता बढाएको छ ।
भिसाको टुङ्गो नलाग्दै काट्नुपर्ने ‘नन–रिफन्डेबल’ (फिर्ता नहुने) हवाई टिकट, अन्तर्राष्ट्रिय बुकिङ प्रणालीबाहेक सम्बन्धित होटलकै छुट्टै ‘कन्फर्मेसन लेटर’ चाहिने नियम र भिसा आउन लाग्ने अत्यधिक समयका विषयमा दूतावासले गम्भीर चासो व्यक्त गरेको जनाएको छ । दूतावासको उच्च नेतृत्वले आफ्नो कन्सुलर शाखालाई भिसा आवेदनमा भइरहेको ढिलाइ र कागजपत्रको कडा नियमबारे समीक्षा गर्न निर्देशन दिएको छ ।
व्यवसायीको चौतर्फी दबाबपछि दूतावासको कार्यशैलीमा सकारात्मक परिवर्तन देखिएको उनी बताउँछन् । दूतावासले अहिले एकतर्फी रूपमा नियम लाद्ने भन्दा पनि नेपालका आधिकारिक ट्राभल एजेन्सीहरूसँग समन्वय गर्ने जनाएको छ । यसले व्यवसायीहरूमा केही खुसी भने छाएको छ ।
एक व्यवसायीका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि थाइल्यान्ड जाने पर्यटकका लागि पनि सहज भने छैन । जेनजी आन्दोलन पछि थाइल्यान्डले नेपाली पर्यटकका लागि पनि कडाइ गरेको छ । जेनजी आन्दोलनपछि नेपालबाट जाने डाक्टरको समूहलाई समेत भिसा रिजेक्ट गरेको एक व्यवसायीको भनाइ छ ।
अघिल्लो दसैँ आसपासमा १० हजार नेपाली थाइल्यान्ड गएका थिए । यो वर्ष १ हजार पनि नपुग्ने बताइन्छ । यो वर्ष बाध्यकारी नभएका, दसैँमा घुमौनत भनेर यो वर्ष घुम्न विदेश जाने सम्भावना कम देखिएको छ । एक व्यवसायीका अनुसार नेपालीहरू विदेशमा खर्च गरेर घुम्न जान कि सेयर बजार बढ्नुपर्छ ।
“नेपालीहरू उद्योगी, व्यवसायी, व्यापारी बोहक दैनिक गरेको मेहनतको कमाइबाट विदेशमा घुम्न जानेको सङ्ख्या निकै कम छ” ती व्यवसायीले भने “सेयर बजार बढ्यो, घर जग्गाको कारोबार बढ्यो भने सहजै कमाएको पैसाले विदेश घुम्छन् । यो वर्ष दसैँको समयमा पनि बजारले सुधारको संकेत देखाएन । त्यसैले बाध्यकारी बाहेक विदेश जानेको सङ्ख्या निकै कम हुनेछ ।”
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima