काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय कार्यालय सञ्चालनका लागि पर्याप्त भौतिक पूर्वाधार भएको घर वा जग्गा खरिद गर्ने भएको छ ।
पार्टीले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय स्थापना गर्ने उद्देश्यले इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको जनाएको छ ।
पार्टीको बढ्दो सांगठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी कार्यालयमा स्थानान्तरण गर्ने निर्णय गरिएको रास्वपाले जनाएको छ। पार्टीको केन्द्रीय समितिले असोज १७ गते गरेको निर्णयअनुसार घर वा जग्गा खरिद प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ ।
रास्वपाका अनुसार केन्द्रीय कार्यालयका लागि आवागमनमा सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर आवश्यक छ । त्यस्तै, कार्यालयको पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा पनि खरिद गर्न सकिने पार्टीले जनाएको छ।
इच्छुक घरधनी तथा जग्गाधनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आफ्नो प्रस्ताव पेस गर्नुपर्नेछ। खरिदका लागि आवश्यक सर्त तथा मापदण्ड पूरा गर्ने घर वा जग्गाको प्रस्ताव आह्वान गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जनाए ।












प्रतिक्रिया दिनुहोस्