Skip to content

महानायक हमालले भने- अर्थमन्त्री डा‌. वाग्लेले भारतप्रति अत्यधिक चाकरीपूर्ण, दासवत् व्यवहार देखाए

nabil
global ime

काठमाडौं । महानायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन् ।

फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै हमालले अर्थमन्त्री वाग्लेले मन्त्रीस्तरीय अधिकारक्षेत्रको सीमा नाघेको टिप्पणी गरेका छन् । उनले अर्थमन्त्रीको अभिव्यक्तिले नेपालको लामो समयदेखि कायम रहेको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको आधार कमजोर बनाउने जोखिम रहेको बताए ।

यस्तो व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमा कमजोर बनाउनुका साथै नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धको समेत उपहास हुने उनको भनाइ छ ।

नेपालको परराष्ट्र नीति कुनै व्यक्तिको व्यक्तिगत निर्णय वा राजनीतिक स्वार्थअनुसार सञ्चालन हुने विषय नभएको उल्लेख गर्दै हमालले कुनै पनि सार्वजनिक पदधारीले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा कमजोर हुने गरी अभिव्यक्ति दिन नहुने बताए ।

नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जोडिएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासको स्वागत गर्नुपर्ने धारणा राखे । तर, त्यसका लागि नेपाली प्रतिनिधिहरूले कूटनीतिक विवेक प्रयोग गर्दै राष्ट्रिय धारणा गरिमा र सन्तुलनका साथ प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘नेपाल–भारत सम्बन्ध ऐतिहासिक रूपमा अत्यन्त महत्त्वपूर्ण र रणनीतिक दृष्टिले संवेदनशील छ । यसलाई व्यक्तिगत चाकरी प्रदर्शन गर्ने व्यवहार वा सार्वजनिक उपहासको विषय बन्ने अभिव्यक्तिमा सीमित गर्नुहुँदैन,’ हमालको आशय छ। अर्थमन्त्री डा‌. वाग्लेको अभिव्यक्तिले भारतप्रति अत्यधिक चाकरीपूर्ण, दासवत् व्यवहार देखाएको उनको संकेत छ ।

उनले नेपाल–भारत सम्बन्धमा समाधान हुन बाँकी सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषय पनि रहेको स्मरण गराएका छन् । यस्ता विषयमा सरकारले उत्तेजक अभिव्यक्ति र देखावटी प्रतिबद्धताभन्दा स्थापित कूटनीतिक माध्यम, प्रमाणमा आधारित तर्क र सौहार्दपूर्ण संवादलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।

छिमेकी राष्ट्रसँगको मित्रता र नेपालको सार्वभौमसत्ताप्रतिको प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य नभई पूरक दायित्व भएको उल्लेख गर्दै हमालले स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचानप्रति आत्मविश्वासी र राष्ट्रिय हितप्रति स्पष्ट रहेर मात्रै नेपाल भरपर्दो साझेदार बन्न सक्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima