काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्डअन्तर्गतको बन्दमुखी योजना ‘सिटिजन्स सुपर ५०’ मंसिर २ गतेदेखि निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ । निष्कासन गरिने कुल इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई अर्थात् कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सिटिजन्स सुपर ५० मा लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
योजनाको निष्कासन तथा बिक्री छिटोमा मंसिर ७ गते बन्द हुनेछ । उक्त अवधिसम्ममा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मंसिर १६ गतेसम्म थपिनेछ ।
सिटिजन्स सुपर ५० योजनाअन्तर्गत न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था छ । सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरिनेछ । त्यस अवस्थामा आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया १५ दिनभित्र सुरु गरिने क्यापिटलले जनाएको छ ।
यो योजना १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । सिटिजन्स सुपर ५० को धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्