Skip to content

अब अन्य जिल्लाको नागरिकता प्रतिलिपि उपत्यकाबाटै लिन सकिने, कुन प्रदेशका नागरिकले कहाँबाट पाउँछन् सेवा ?

nabil
global ime
काठमाडौं । अब अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले पनि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको छ ।
आगलागी, पानीले भिजेर नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा पाउनेछन् । गृह मन्त्रालयले कात्तिक ९ गतेको परिपत्रअनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाट प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले सेवा लिन सक्नेछन् । यसैगरी, जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले सेवा लिन सक्नेछन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेश प्रदेशका जिल्लाबाट नागरिकता लिएका नागरिकले सेवा लिन सक्नेछन् ।
कार्यालयका अनुसार नागरिकताको प्रतिलिपि जारी गर्नुअघि निवेदकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा रहेको विवरणसँग रुजु गरिनेछ। अभिलेखमा रहेको विवरण हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ ।
तर, अभिलेखमा विवरण नभिडेको, साबिकको नागरिकतामा उल्लेख भएको भन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै शंकास्पद देखिएका निवेदकले भने साबिकमा नागरिकता लिएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाले काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि लिन सहज हुने अपेक्षा गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima