Skip to content

तिहारको भाइ मसलामा विदेशियो ३ अर्ब ६ करोड, आयातबाट सरकारलाई १ अर्ब ३८ करोड राजस्व

सुपारीदेखि सल्लाको बियाँसम्म आयात

nabil
global ime
फाेटाेः एआई

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर उपहारस्वरूप दिने भाइ मसलामा प्रयोग हुने ड्राइफ्रुट्स (सुक्खा फलफूल) को आयातमा नेपालबाट ठूलो रकम बाहिरिएको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को असोज मसान्तसम्म विभिन्न प्रकारका ड्राइफ्रुट्स आयातका लागि ३ अर्ब ६ करोड ७४ लाख ८९ हजार रुपैयाँ बाहिरिएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार उक्त अवधिमा ड्राइफ्रुट्स आयातबाट सरकारले १ अर्ब ३८ करोड ८९ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । तिहारमा भाइ मसलाको माग बढ्ने भएकाले बजारमा काजु, बदाम, ओखर, पिस्ता, नरिवल, खजुर, अन्जिरलगायत सुक्खा फलफूलको कारोबार हुने गर्छ ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने भाइ मसलामा विभिन्न प्रकारका नट्स तथा सुक्खा फलफूल समावेश गरिन्छन् । पछिल्लो समय परम्परागत रूपमा प्रयोग हुँदै आएका सामग्रीसँगै काजु, बदाम, पिस्ता, ओखर, खजुर र अन्जिरजस्ता महँगा सुक्खा फलफूलसमेत भाइ मसलाका प्याकेटमा राख्ने चलन बढेको छ ।

कहाँबाट आउँछ नरिवल ?

नेपालले नरिवल किन्नका लागि मात्रै ५८ करोड ७५ लाख ५९ हजार रुपैयाँ खर्च गरेको छ । यसबाट सरकारले ११ करोड ५० लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालमा नरिवल विभिन्न स्वरूपमा भारत, भियतनाम र कतारबाट आयात भएको भन्सार विभागले जानकारी दिएको छ । ताजा वा सुक्खा नरिवलमध्ये सुक्खा नरिवल भारतबाट ७ लाख ३५ हजार ५९३ केजी आयात भएको छ । नेपालले भारतलाई नरिवलका लागि १९ करोड ७३ लाख १८ हजार रुपैयाँ तिरेको छ ।

यसैगरी, भियतनामबाट १ लाख १ हजार ९ केजी नरिवल आयात भएको छ । यसका लागि नेपालबाट १ करोड ८५ लाख ८३ हजार रुपैयाँ बाहिरिएको छ । कतारबाट ४ केजी आयात भएको छ ।

भित्री कडा खोलभित्र रहेको नरिवल नेपालले भारतबाट ५ लाख ७५ हजार २३९ केजी आयात गरेको छ । यसका लागि २ करोड १४ लाख ८९ हजार रुपैयाँ बाहिरिएको छ ।

यसैगरी, अन्य ताजा वा सुक्खा नरिवल भारतबाट १ करोड ५ लाख ६९ हजार ६०१ केजी आयात भएको छ । यसका लागि नेपालबाट ३५ करोड १ लाख ६८ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जानकारी दिएको छ ।

कति भयो काजुको आयात ?

नेपालमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विभिन्न देशबाट ४ लाख ६९ हजार ५१६ किलो काजु आयात भएको छ । नेपालले ४६ करोड ५७ लाख २६ हजार रुपैयाँ बराबरको काजु आयात गरेको छ । यसबाट सरकारले १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

बोक्रासहितको काजु भारत, कुवेत, मलेसिया, कतार, साउदी अरेबिया, सिंगापुर र संयुक्त अधिराज्यबाट आयात भएको भन्सार विभागले जानकारी दिएको छ । भारतबाट ६५ केजी, कुवेतबाट १४ केजी, मलेसियाबाट १ केजी, कतारबाट ६ केजी, साउदी अरेबियाबाट ११ केजी, सिंगापुरबाट १ केजी र संयुक्त अधिराज्यबाट २ केजी काजु आयात भएको विभागले जानकारी दिएको छ ।

बोक्रा हटाइएको काजु ब्रुनाई दारुस्सलाम, चीन, हङकङ, भारत, इन्डोनेसिया, इजरायल, कुवेत, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र भियतनामबाट आयात भएको छ । यस्तो काजु सबैभन्दा धेरै भारत र भियतनामबाट आयात भएको छ ।

भारतबाट २ लाख ४७ हजार ४९८ केजी, भियतनामबाट २ लाख २१ हजार ४४८ केजी, ब्रुनाई दारुस्सलामबाट १ केजी, चीनबाट ४ केजी, हङकङबाट २ केजी, इन्डोनेसियाबाट ३ केजी, इजरायलबाट १ केजी, कुवेतबाट ८८ केजी, कतारबाट २७२ केजी, साउदी अरेबियाबाट ४४ केजी र संयुक्त अरब इमिरेट्सबाट ५५ केजी काजु आयात भएको छ ।

तिहारमा खाँदै छन् करिब ४८ करोडको बदाम

चालु आर्थिक वर्षको तीन महिनामा नेपालले विभिन्न देशबाट ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ बराबरको बदाम आयात गरेको छ । बदाम आयात गरेर सरकारले ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

मुलुकले बोक्रासहितको बदाम चीन, हङकङ, भारत, इजरायल, कोरिया गणतन्त्र, कुवेत, मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र संयुक्त अधिराज्यबाट आयात गर्ने गरेको भन्सार विभागले जानकारी दिएको छ ।

बोक्रासहितको बदाम चीनबाट २० केजी, हङकङबाट ५२ केजी, भारतबाट २ हजार ५९० केजी, इजरायलबाट शून्य केजी, कोरिया गणतन्त्रबाट १६ केजी, कुवेतबाट ८८ केजी, मलेसियाबाट १ केजी, कतारबाट १७९ केजी, साउदी अरेबियाबाट ४४ केजी, संयुक्त अरब इमिरेट्सबाट १ केजी र संयुक्त अधिराज्यबाट ७ केजी आयात भएको छ ।

बोक्रा हटाइएको बदाम चीन, हङकङ, भारत, इजरायल, कतार, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र नामिबियाबाट आयात भएको छ । बोक्रा हटाइएको बदाम सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ ।

चीनबाट १०५ केजी, हङकङबाट २ केजी, भारतबाट २ हजार ५६ केजी, इजरायलबाट शून्य केजी, कतारबाट १०५ केजी, संयुक्त अरब इमिरेट्सबाट ७० केजी, संयुक्त अधिराज्यबाट ३८ केजी, संयुक्त राज्य अमेरिकाबाट ५ लाख ३ हजार ६९८ केजी र नामिबियाबाट ६ केजी बदाम आयात भएको छ ।

ओखरको आयातमा बाहिरियो ६५ करोडभन्दा धेरै

नेपालले ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको ओखर आयात गरेको छ । यसबाट सरकारले १५ करोड ८९ लाख ७० हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । नेपालमा बोक्रासहितको ओखर चीन, भारत, जापान, कुवेत, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र संयुक्त राज्य अमेरिकाबाट आयात भएको छ ।

चीनबाट ९ लाख ७१ हजार ७०६ केजी, भारतबाट ४१ केजी, जापानबाट १ केजी, कुवेतबाट १३२ केजी, कतारबाट २४८ केजी, साउदी अरेबियाबाट ६६ केजी, संयुक्त अरब इमिरेट्सबाट ६ केजी र संयुक्त राज्य अमेरिकाबाट ४ लाख ७९ हजार केजी ओखर आयात भएको छ । बोक्रा हटाइएको ओखर चीन, भारत र कतारबाट आयात भएको छ । चीनबाट ७४ हजार केजी, भारतबाट ४० केजी र कतारबाट ११ केजी ओखर आयात भएको छ ।

यसैगरी, बोक्रासहितको पिस्ता भारत, कतार, संयुक्त अरब इमिरेट्स र संयुक्त अधिराज्यबाट आयात भएको छ । भारतबाट १ केजी, कतारबाट ६ केजी, संयुक्त अरब इमिरेट्सबाट १३ केजी र संयुक्त अधिराज्यबाट १ केजी पिस्ता आयात भएको छ ।

बोक्रा हटाइएको पिस्ता हङकङ, भारत, कतार र संयुक्त अधिराज्यबाट आयात भएको छ । हङकङबाट ४ केजी, भारतबाट १ हजार ९१५ केजी, कतारबाट १५ केजी र संयुक्त अधिराज्यबाट १ केजी पिस्ता आयात भएको छ ।

सुपारी आयातमा बाहिरियो साढे ८४ करोडभन्दा धेरै

नेपालले सुपारी आयातका लागि साढे ८४ करोड रुपैयाँभन्दा धेरै खर्च गरेको छ । सुपारी आयातका लागि नेपालबाट ८४ करोड ७७ लाख ७ हजार रुपैयाँ बराबरको रकम बाहिरिएको हो । यसबाट सरकारले ८४ करोड ६९ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा तीन महिनामा ३२ लाख ४० हजार ५०० किलो सुपारी आयात भएको छ ।

नेपालले इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरेको छ । इन्डोनेसियाबाट २५ लाख ३८ हजार ५०० केजी र थाइल्यान्डबाट ७ लाख २ हजार केजी सुपारी आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।

यसैगरी, नेपालमा अन्य प्रकारका नट्स बहराइन, चीन, हङकङ, भारत, इजरायल, कोरिया गणतन्त्र, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र संयुक्त अधिराज्यबाट आयात भएका छन् ।

अन्य प्रकारका नट्स बहराइनबाट १०८ केजी, चीनबाट १ केजी, हङकङबाट ७४ केजी, भारतबाट ७२८ केजी, इजरायलबाट २ केजी, कोरिया गणतन्त्रबाट २२ केजी, कुवेतबाट १ हजार १०५ केजी, मलेसियाबाट ८ केजी, ओमानबाट ५७ केजी, कतारबाट २४३ केजी, साउदी अरेबियाबाट ७६ केजी, संयुक्त अरब इमिरेट्सबाट ६९ केजी र संयुक्त अधिराज्यबाट १ केजी अन्य नट्स आयात भएका छन् ।

यसैगरी, ताजा खजुर भारत, कुवेत, कतार र साउदी अरेबियाबाट आयात भएको छ । भारतबाट ३७९ केजी, कुवेतबाट ८७ केजी, कतारबाट १६४ केजी र साउदी अरेबियाबाट ४८ केजी ताजा खजुर आयात भएको छ ।

सुक्खा खजुर बहराइन, चीन, हङकङ, भारत, इजरायल, जापान, कोरिया गणतन्त्र, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र संयुक्त अधिराज्यबाट आयात भएको छ ।

बहराइनबाट १२ केजी, चीनबाट २ केजी, हङकङबाट ४ केजी, भारतबाट ७९९ केजी, इजरायलबाट १५ केजी, जापानबाट ४ केजी, कोरिया गणतन्त्रबाट १ केजी, कुवेतबाट ७६ केजी, मलेसियाबाट ३ केजी, ओमानबाट १६ केजी, कतारबाट ३११ केजी, साउदी अरेबियाबाट ४ केजी, संयुक्त अरब इमिरेट्सबाट १६४ केजी र संयुक्त अधिराज्यबाट १ केजी सुक्खा खजुर आयात भएको छ ।

यसैगरी, नेपालमा ताजा अन्जिर भारत, कुवेत, ओमान, कतार र साउदी अरेबियाबाट आयात भएको छ । भारतबाट २०० केजी, कुवेतबाट ३ केजी, ओमानबाट ९ केजी, कतारबाट ८ केजी र साउदी अरेबियाबाट ४ केजी ताजा अन्जिर आयात भएको छ ।

अन्य प्रकारका अन्जिर भारत र कतारबाट आयात भएका छन् । भारतबाट ४५ हजार ९० केजी र कतारबाट २ केजी अन्जिर आयात भएको छ ।

नेपालमा ब्राजिल नट्स भारतबाट २२ केजी आयात भएको छ । यसैगरी, बोक्रासहितको हेजलनट संयुक्त अधिराज्यबाट १ केजी आयात भएको छ ।

यसैगरी, बोक्रा हटाइएको म्याकाडामिया नट्स कुवेतबाट ८८ केजी, कतारबाट १६४ केजी र साउदी अरेबियाबाट ४४ केजी आयात भएको छ । नेपालमा पाइन नट्स (सल्लाको बियाँ) समेत आयात भएको छ । बोक्रा हटाइएको पाइन नट्स कतारबाट १ केजी आयात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T