Skip to content

बाढी प्रभावित बीमितलाई दाबी भुक्तानी सहज बनाउन बीमा कम्पनीलाई प्राधिकरणको ८ बुँदे निर्देशन, ६ महिनासम्म ब्याज नलाग्ने

nabil
global ime

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितलाई जीवन बीमाको दाबी भुक्तानी लिन सहज बनाएको छ ।

प्राधिकरणले बाढीका कारण मृत्यु भएका तथा बेपत्ता भएका बीमितका परिवारलाई बीमा रकम भुक्तानी गर्न आवश्यक कागजात र प्रक्रियामा सहजीकरण गर्ने निर्णय गरेको हो ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण प्रभावित बीमित तथा तिनका हकवालाको हितमा हुने भन्दै प्राधिकरणले सबै जीवन बीमा तथा लघु जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व बीमा रकम भुक्तानी प्रक्रियालाई सरल बनाउन समेत निर्देशन दिएको छ ।

प्राधिकरणको निर्देशनअनुसार बाढीका कारण मृत्यु भएका बीमितको बीमा दाबी भुक्तानी माग गर्दा निवेदनमा बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर र दाबी गर्ने व्यक्तिसँगको नाता खुलाउनुपर्नेछ । निवेदनसँग बीमित र दाबीकर्ताबीचको नाता प्रमाणित हुने कागजात तथा दाबीकर्ताको पहिचान खुल्ने सरकारी परिचयपत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसका लागि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा जग्गाधनी प्रमाणपुर्जा पेस गर्न सकिनेछ । त्यस्तै, बाढीमा परी मृत्यु भएको वा बेपत्ता भएको पुष्टि गर्न अधिकारप्राप्त निकाय वा अधिकारीबाट जारी गरिएको प्रमाणित विवरण वा सिफारिसपत्र आवश्यक पर्नेछ । यस्तो प्रमाणपत्रमा बाढी वा विपद्मा परी मृत्यु भएको व्यहोरा खुलाइएको हुनुपर्नेछ । मृत्युको न्यायिक घोषणा भएको अवस्थामा त्यसलाई पनि आधार मान्न सकिनेछ ।

बाढीका कारण सक्कल बीमालेख हराएको वा नष्ट भएको अवस्थामा पनि बीमितका परिवारलाई दाबी भुक्तानी प्रक्रियामा समस्या नपर्ने गरी व्यवस्था गरिएको छ । सक्कल बीमालेख उपलब्ध गराउन नसकिएको अवस्थामा बीमा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपिलाई आधार मानेर दाबी प्रक्रिया अघि बढाउन सकिनेछ । बीमितले बीमालेखको प्रतिलिपि माग गरेमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै, बाढीका कारण बीमा कम्पनीका पोलिसी डकुमेन्ट अर्थात् बीमासम्बन्धी कागजात नष्ट भएको अवस्थामा सम्बन्धित बीमित तथा बीमा अभिकर्ताले आवश्यक विवरण उपलब्ध गराई अभिलेख अद्यावधिक गर्न कम्पनीलाई सहयोग गर्नुपर्नेछ । यसले भौतिक कागजात नष्ट भए पनि उपलब्ध अभिलेखका आधारमा बीमा सेवा निरन्तरता दिन सहज हुने प्राधिकरणको व्यवस्था छ ।

बाढीका कारण आर्थिक कठिनाइमा परेका बीमितलाई राहत दिन प्राधिकरणले बीमाशुल्क तथा बीमालेख कर्जाको नियमित किस्ता भुक्तानीमा समेत सहुलियत दिएको छ । बाढीबाट प्रभावित भएर बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्थामा रहेका बीमितलाई बढीमा ६ महिनासम्म ब्याज नलाग्ने गरी भुक्तानीको म्याद थप गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, बाढीमा परी बेपत्ता भएका बीमितको हकमा पनि परिवारले बीमा दाबी भुक्तानी लिन सक्ने व्यवस्था गरिएको छ । त्यसका लागि सम्बन्धित हकवालाले भविष्यमा बेपत्ता भएका बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वघोषणा वा प्रतिबद्धतापत्र बुझाउनुपर्नेछ । यस्तो प्रतिबद्धतापत्र प्राप्त भएपछि बीमा कम्पनीले दाबी भुक्तानी गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T