काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेप संकलन र कर्जा लगानी दुवैमा वृद्धि देखिएको छ । निक्षेपमा दिने ब्याजदर घटे पनि चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको निक्षेप ३.२० प्रतिशतले बढेको हो ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकहरूको निक्षेप संकलनसँगै कर्जा लगानीसमेत बढेको छ । तीन महिनामा बैंकहरूको कर्जा लगानी ३.३२ प्रतिशतले वृद्धि भएको छ ।
पहिलो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले कुल ७६ खर्ब ४२ अर्ब ६ करोड ४१ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस अवधिमा बैंकहरूको कुल कर्जा लगानी भने ५१ खर्ब ७ अर्ब ९३ करोड ६ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ७४ खर्ब ४ अर्ब ३९ करोड ९२ लाख २ हजार रुपैयाँ निक्षेप संकलन गरेका थिए । सोही अवधिमा बैंकहरूको कुल कर्जा लगानी ४९ खर्ब ४३ अर्ब ६३ करोड ६६ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
असार मसान्तको तुलनामा पहिलो त्रैमासमा बैंकहरूको निक्षेप र कर्जा लगानी दुवै बढेको देखिन्छ । निक्षेपको ब्याजदर घटिरहेको अवस्थामा समेत निक्षेप संकलनमा भएको वृद्धिले बैंकिङ प्रणालीमा बचत बढिरहेको हो ।
चालु आवको असोज मसान्तसम्म सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले असोज मसान्तसम्म ७ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँ भन्दा धेरै निक्षेप संकलन गरेको छ । यसैगरी, निक्षेप संकलनमा दोस्रो बैंक ग्लोबल आइएमई बैंक, तेस्रोमा नबिल र चौथोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।
तीन महिनाको अवधिमा सबैभन्दा धेरै निक्षेप बढाउने बैंक नेपाल एसबीआई बैंक रहेको छ । यस बैंकको निक्षेप १२ प्रतिशत बढेको छ ।
एभरेष्ट बैंक र कुमारी बैंकको निक्षेप ६ प्रतिशतभन्दा धेरै बढेको छ । चालु आवको पहिलो तीन महिनामा दुई बैंकको निक्षेप संकलन घटेको छ । यस अवधिमा एनआईसी एसिया बैंक र प्राईम कमर्सियल बैंकको निक्षेप घटेको हो ।
यसैगरी, चालु आवको तीन महिनासम्म आउँदा सबैभन्दा धेरै कर्जा लगानी गर्ने वाणिज्य बैंक नबिल बैंक रहेको छ । यस बैंकले ४ खर्ब ७६ अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ ।
यसैगरी, ग्लोबल आइएमई बैंकले ४ खर्ब ७१ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले ३ खर्ब ४० अर्ब, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ खर्ब २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कर्जा लगानी ती महिनामा सबैभन्दा धेरै बढाउने बैंक कुमारी बैंक रहेको छ । यस बैंकले ७.६७ प्रतिशतले कर्जा लगानी विस्तार गरेको छ ।
यसैगरी, ग्लोबल आइएमई बैंकको कर्जा लगानी ७.४८ प्रतिशत बढेको छ । चालु आवको पहिलो ३ महिनामा २ बैंकको कर्जा लगानी घटेको छ । यस अवधिमा प्रभु बैंक र एनआईसी एसिया बैंकको कर्जा लगानी घटेको हो ।
प्रतिक्रिया दिनुहोस्