Skip to content

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

nabil
global ime

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट (स्वार्थको द्वन्द्व) को प्रश्न उठेपछि थापाले राजदूतका लागि प्रस्तावित नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

सभापति श्रेष्ठका अनुसार उजुरीमाथि छलफल गर्न बैठक बस्ने भएपछि थापालाई समितिमा बोलाइएको थियो । छलफलका क्रममा थापाले स्वार्थको द्वन्द्व जोडिएको विषय भए देशको हितलाई ध्यानमा राख्दै नाम फिर्ता लिने बताएका थिए ।

‘उजुरीबारे आज बैठक बस्ने भएपछि हामीले उहाँलाई यहाँ बोलाएका थियौं । केही कुरा पनि गर्‍यौं । त्यसक्रममा उहाँले देशको कुरा हो, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हो भने म नाम फिर्ता लिन्छु भन्नुभयो । तर लिखित आउन बाँकी छ, केहीबेरमा आउँछ,’ सभापति श्रेष्ठले भने ।

यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापासँग जापानको स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि सुनुवाइ प्रक्रिया रोकिएको थियो । समितिका सदस्य सांसदहरूले थापाको जापानको पीआर रहेको भन्दै प्रश्न उठाएका थिए ।

सुनुवाइका क्रममा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, सांसदहरूले नेपालको संविधानको धारा २९१ मा रहेको व्यवस्था र पीआर त्यागेको अवधिका विषयमा थप स्पष्टता माग गरेका थिए ।

विषयमा स्पष्ट हुन संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण माग गरेको थियो । जापानस्थित नेपाली दूतावासमार्फत प्राप्त विवरण परराष्ट्र मन्त्रालयले समितिमा पठाएको थियो ।

स्वार्थको द्वन्द्व र संवैधानिक व्यवस्थासम्बन्धी प्रश्न उठेपछि थापाले राजदूतका लागि आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T