Skip to content

नेपाल राष्ट्र बैंकद्वारा फिन्टेक इनोभेसन शोकेस इभेन्ट २०२६ आयोजना

nabil
global ime

काठमाडौं । प्रविधिमा आधारित वित्तीय सेवाको प्रवद्र्धन तथा फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तनलाई प्रदर्शन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘फिन्टेक इनोभेसन शोकेस इभेन्ट २०२६’ आयोजना गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आयोजना गरेको उक्त कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको हो ।

बालुवाटारस्थित राष्ट्र बैंक परिसरमा आयोजित कार्यक्रमको उद्घाटन गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गरेका छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवद्र्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। नवप्रवर्तनमा आधारित नियामकीय तथा सुपरिवेक्षकीय प्रणालीको विकासका लागि राष्ट्र बैंक प्रयासरत रहेको उनले जानकारी दिए ।

फिन्टेकको विस्तारसँगै यसबाट सिर्जना हुने चुनौतीको व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको गभर्नर पौडेलले बताए । उनले एकातर्फ वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्ने र अर्कोतर्फ वित्तीय प्रविधि तथा नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम र चुनौतीको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् ।

फिन्टेक नवप्रवर्तनको प्रवद्र्धन र विकासका लागि नेपाल सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील संस्थाबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा उनले जोड दिएका छन् ।

कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेकको प्रवद्र्धनका लागि राष्ट्र बैंकले गरेका नीतिगत तथा संरचनागत प्रयासबारे चर्चा गरेका छन् । त्यस्तै, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सम्बन्धमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्थाबारे जानकारी दिए ।

कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिन्टेक कम्पनीलगायत सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रमअन्तर्गत वित्तीय संस्था तथा फिन्टेक कम्पनीका २७ वटा स्टल प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र प्रविधिमा आधारित नियमन (रेगटेक) सेवासम्बन्धी नवप्रवर्तनहरू समेटिएका थिए। उक्त प्रदर्शनीको राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था र फिन्टेक कम्पनीलगायतका संस्थाका एक हजारभन्दा बढी प्रतिनिधिले अवलोकन गरेका थिए।

कार्यक्रमकै अवसरमा ‘डिजिटल लेन्डिङ एन्ड क्रेडिट फर अन्डरसभ्र्ड’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो। फिन्टेक अलायन्स नेपालको तर्फबाट मनोज घिमिरेले सहजीकरण गरेको छलफलमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र फिन्टेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवाल प्यानलिस्टका रूपमा सहभागी रहेका थिए ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको ‘फिन्टेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेस (२०२६÷२७–२०२९÷३०)’ अन्तर्गत फिन्टेक इकोसिस्टमका नवप्रवर्तक तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने उद्देश्य राखेको छ ।

सोही रणनीतिअन्तर्गत डिजिटल फाइनान्स इन्नोभेसन हब (डीएफआईएच) र रेगुलेटरी स्यान्डबक्सलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले ‘फिन्टेक नेक्सस’ संयन्त्रसमेत तयार गरेको छ। यसैको निरन्तरतास्वरूप आज ‘फिन्टेक इनोभेसन शोकेस’ आयोजना गरिएको हो ।

राष्ट्र बैंकले आगामी दिनमा फिन्टेक वर्कसप, ह्याकाथन र इन्नोभेसन च्यालेन्जजस्ता कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T