काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति केन्द्रीय बैंककै पूर्व सञ्चालकको कब्जामा छ । सञ्चालक त्रय चिन्तामणी शिवाकोटी, डा शंकर प्रसाद आचार्य र डा.रवीन्द्र प्रसाद पाण्डे रहेका छ । उनीहरू तीनै जना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।
अब राष्ट्र बैंकका पूर्व कार्यकारी तथा वर्तमान कार्यकारी निर्देशक (हाकिम)हरू नेपाल राष्ट्र बैंकमा मात्रै नभएर शक्तिशाली नियामक निकायमा समेत पुगेका छन् ।
अहिले कतिपय शक्तिशाली नियामक निकाय राष्ट्र बैंकका हाकिमहरूको कब्जामा रहेको छ । अघिल्ला सरकारकाहरुको नजरमा पनि राष्ट्र बैंकका हाकिमहरू पर्ने गरेका थिए ।
अहिले जेनजी आन्दोलनको जगमा बनेको बालेन नेतृत्वको सरकारले भने केन्द्रीय बैंकका हाकिमहरूलाई लाइन लगाएर धमाधम महत्त्वपूर्ण निकायमा धमाधम नियुक्ति दिन थालेको छ ।
बालेन सरकारले राष्ट्रिय योजना आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, कर्जा तथा निक्षेप सुरक्षण कोष राष्ट्र बैंकका पूर्व हाकिमलाई जिम्मा लगाएको छ ।
बालने सरकारले नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरिसकेको छ ।
यस्तै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पिताम्बर भण्डारीलाई कर्जा तथा निक्षेप सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।
यस्तै मंगलबार नै बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका बहालवाला कार्यकारी निर्देशक राजन विक्रम थापालाई बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएको छ । राष्ट्र बैंकमा करिब ५ महिना कार्यकाल बाँकी हुँदा उनले प्राधिकरणमा अध्यक्षको भूमिका पाएका छन् । उनी राष्ट्र बैंकका हाकिम भए पनि बीमा क्षेत्रको ज्ञान पूर्ण नरहेको हो की भन्ने चर्चा पनि छ ।
तत्कालीन बीमा समितिका २०७३ पुस दोस्रो साता सरकारले नेपाल राष्ट्र बैंकका बहालवाला निर्देशक चिरञ्जीवी चापागाईँलाई अध्यक्ष बनायो । उनको कार्यकाल पनि विवादमुक्त भने हुन सकेन । तत्कालीन समितिमा नियुक्त हुनासाथ जीवन र निर्जीवन बीमा कम्पनीको लाइसेन्स बाँडेका उनले कार्यकाल सकिने बेला मर्जरको नीति लिएका थिए ।
साथै उनैले बीमा अन्तर्राष्ट्रिय मूल्य मान्यता, नीति, विधि,सिद्धान्त विपरीत हुने गरी कोरोना बीमाको पोलिसी ल्याए । अहिले सरकारले कोरोना बीमा बापतको करोडौँ रकम जनतालाई भुक्तानी गरेको छैन । सरकारले दिने भनेर गरेको बीमाको भुक्तानी नगर्दा बीमाप्रति नै नकारात्मक प्रभाव मानिसमा बढेको छ ।
राष्ट्र बैंकका पूर्व हाकिम भिष्म ढुंगाना आर्थिक विषयमा बढी लोभी बन्दा कार्यकाल पुरा गर्न पाएनन् । सेबोनका पूर्व अध्यक्ष डा रेवत बहादुर कार्की पनि राष्ट्र बैंकका पूर्व निर्देशक हुन् । उनले ल्याएको १० कित्ता नीति तत्कालीन समयमा राम्रो भनिए पनि अब यसमा संशोधन गर्नुपर्ने माग हुन थालेको छ ।
सेबोनका वर्तमान अध्यक्ष डा भट्टलाई सेबोनलाई सेबोन जस्तो कायम राख्नु पर्नेमा कतै राष्ट्र बैंक जस्तो बनाउने त हैनन् भन्ने चिन्ता स्वयम: बोर्ड भित्रै देखिएको छ ।
राष्ट्र बैंकका पूर्व हाकिमहरूलाई थाहा सबै कुरा हुने भए पनि नियामक निकायमा बसेर कतिपयले प्रभावकारी रूपमा निर्णय गर्न नसक्दा समस्या हुने गरेको गुनासो पनि छ ।
सबै नियामक निकायको काम गर्ने तौरतरिका, परिवेश, परिस्थिति फरक फरक हुने गरेको भए पनि सरकारले सबैतिर राष्ट्र बैंकका पूर्व हाकिमहरूलाई नियुक्त गरेर के गर्न खोजेको हो ? अन्य व्यक्तिहरू अयोग्य भएर हो की ? भन्ने प्रश्न भने उब्जन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्