काठमाडौं । अमेरिकाको राज्यस्तरीय विधायक (स्टेट लेजिस्लेचर) निर्वाचनमा नेपाली मूलका तीन जना उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचित हुनेमा डा. ह्यारी भण्डारी, सराहना श्रेष्ठ र विश्वबहादुर शाह रहेका छन् ।
तीनै जना डेमोक्रेटिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उनीहरूले अमेरिकाका विभिन्न राज्यमा रहेका निर्वाचन क्षेत्रबाट जित हासिल गरेका हुन्।
डा.ह्यारी भण्डारी मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ८ बाट निर्वाचित भएका छन्। उनले तेस्रो पटक मेरिल्यान्ड हाउस अफ डेलिगेट्समा जित हासिल गरेका हुन्। भण्डारीले कुल मतको २२.३४ प्रतिशत प्राप्त गरेका छन्।
यसअघि सन् २०१८ मा पहिलो पटक मेरिल्यान्ड हाउस अफ डेलिगेट्समा निर्वाचित भएका भण्डारी अमेरिकामा राज्यस्तरको सांसद निर्वाचित हुने पहिलो नेपाली मूलका व्यक्ति हुन् । उनले त्यतिबेला १२ वर्षदेखि रिपब्लिकन पार्टीले जित्दै आएको निर्वाचन क्षेत्रमा डेमोक्रेटिक पार्टीका तर्फबाट जित हासिल गरेका थिए ।
यसैगरी, सराहना श्रेष्ठ न्युयोर्क राज्यको डिस्ट्रिक्ट १०३ बाट तेस्रो पटक निर्वाचित भएकी छन् । उनले कुल मतको करिब ६९ प्रतिशत प्राप्त गर्दै जित हासिल गरेकी हुन् ।
श्रेष्ठ सन् २०२२ मा पहिलो पटक न्युयोर्कको राज्य विधायिकामा निर्वाचित भएकी थिइन् । सन् २०२४ मा दोस्रो पटक जित हासिल गरेकी उनी अमेरिकाको राज्य विधायिकामा निर्वाचित हुने पहिलो नेपाली मूलकी महिला हुन् ।
यसैगरी, विश्वबहादुर शाह पनि हिल्सबरो काउन्टीको डिस्ट्रिक्ट ४१ बाट निर्वाचित भएका छन् । उनले कुल मतको २०।३६ प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचित भएपछि सेतोपाटीसँग कुरा गर्दै शाहले राज्यस्तरका नीति निर्माण, बजेट तथा विकासका विषयमा काम गर्ने बताएका छन् ।
नेपाली मूलका तीन जनाको जितलाई अमेरिकाको राजनीतिमा नेपाली समुदायको बढ्दो सहभागिता र प्रतिनिधित्वका रूपमा हेरिएको छ ।









प्रतिक्रिया दिनुहोस्