Skip to content

निर्यात क्षमता अभिवृद्धि र बजारीकरणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध छः मन्त्री शाह

nabil
global ime

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच र निर्यात विस्तारका लागि युरोपेली संघ (ईयू) को सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् ।

ईयूको ‘एभ्रिथिङ बट आम्र्स’ व्यापार सहुलियत कार्यक्रम लागू भएको २५ वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौँस्थित आरन्य बुटिक होटलमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री शाहले सो कुरा बताएका हुन । निर्यात व्यवसायी महासंघ नेपालले ईयू नेपाल प्रतिनिधिमण्डल, अन्तर्राष्ट्रिय व्यापार केन्द्र तथा एकाउन्टेबिलिटी ल्याबको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मन्त्री शाहले नेपालको निर्यात प्रवद्र्धनमा ईयूले पुर्याउँदै आएको सहयोग आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरे। आगामी दिनमा युरोपमा निर्यात वृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अघि बढाउने उल्लेख गर्दै उनले भने, “नेपालको निर्यात क्षमता अभिवृद्धि गर्न, युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच बढाउन र निर्यातकर्ताहरूले भोग्दै आएका व्यावहारिक समस्या समाधान गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।”

ईबीए कार्यक्रमले अति कम विकसित मुलुकहरूलाई हतियारबाहेकका सम्पूर्ण वस्तुमा युरोपेली बजारमा भन्सार तथा कोटारहित पहुँच प्रदान गर्दै आएको छ । कार्यक्रममा २५ वर्षे अनुभवको समीक्षा गर्दै नेपालले उपलब्ध व्यापारिक अवसरको अधिकतम उपयोग गर्ने र नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि उत्पन्न हुने व्यापारिक चुनौती तथा संक्रमणकालीन तयारीका विषयमा गहन छलफल गरिएको थियो ।

सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत चाल्र्स ह्वाइटलीले नेपाली उत्पादनको विशिष्टता र मौलिकताको प्रशंसा गर्नुभयो । अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको उच्च सम्भावना रहेको औँल्याउँदै उनले युरोपेली बजारमा निर्यात गर्दा नेपाली व्यवसायीले भोगिरहेका चुनौती समाधानका लागि ईयूको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै, निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष गोविन्द घिमिरेले युरोपेली बजार प्रवेश र निर्यातका क्रममा देखिने समस्या समाधानका लागि ईयू र नेपाल सरकारबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा युरोपेली बजारमा निर्यात गरिरहेका नेपाली उद्यमीहरूले आफ्ना अनुभव तथा चुनौती प्रस्तुत गरेका थिए भने निर्यातसम्बन्धी विभिन्न व्यापार निर्देशिकाहरू समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूले ब्रसेल्सस्थित युरोपेली आयोगको चार्लेमेन भवनमा नोभेम्बर ४ मा आयोजित ईबीएको २५औँ वार्षिकोत्सवको मूल समारोह प्रत्यक्ष प्रसारण मार्फत अवलोकन गरेका थिए। उक्त अन्तर्राष्ट्रिय समारोहमा ईयूका उच्च अधिकारी, अति कम विकसित मुलुकका प्रतिनिधि तथा व्यापारिक क्षेत्रका नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T