Skip to content

जेनजी आन्दोलनदेखि अन्तर्राष्ट्रिय युद्धसम्मको असरः होटलकाे नाफामा आएन सुधार, पाँचमध्ये ३ कम्पनी नोक्शानीमा

nabil
global ime

काठमाडौं । होटल तथा पर्यटन क्षेत्रमा लगानी र प्रतिस्पर्धा बढ्दै गए पनि आन्तरिक तथा बाह्य चुनौतीका कारण कम्पनीहरूको नाफामा अपेक्षित सुधार आउन सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार होटल तथा पर्यटन क्षेत्रका पाँच कम्पनीमध्ये दुई कम्पनी मात्रै नाफामा रहेका छन् भने बाँकी तीन कम्पनी घाटामा छन् ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म सोल्टी होटल र चन्द्रागिरि हिल्स नाफामा रहेका छन् । सोल्टी होटलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १५ प्रतिशतले वृद्धि गरेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा रहेको चन्द्रागिरि हिल्सले चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यता, ओरियन्टल होटल, कालिञ्चोक दर्शन र सिटी होटल भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि घाटामै रहेका छन् । यी तीनवटै कम्पनी गत आर्थिक वर्षको सोही अवधिमा समेत घाटामा थिए ।

कम्पनीहरूले सार्वजनिक गरेका वित्तीय विवरण तथा व्यवस्थापनको विश्लेषणअनुसार जेनजी आन्दोलन, राजनीतिक अस्थिरता तथा अन्तर्राष्ट्रिय द्वन्द्वले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण पर्यटक आगमन प्रभावित भएको कम्पनीहरूको भनाइ छ ।

त्यसैगरी, रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्व तथा इरान–अमेरिका तनावजस्ता अन्तर्राष्ट्रिय घटनाक्रमले पनि नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पारेको उल्लेख गरिएको छ ।

पछिल्लो समय देशभित्र नयाँ होटलहरू निर्माण भई सञ्चालनमा आउने क्रम बढिरहेको भए पनि सोही अनुपातमा पर्यटक आगमन वृद्धि हुन सकेको छैन । यसले होटल व्यवसायमा प्रतिस्पर्धा थप चर्काएको कम्पनीहरूको भनाइ छ ।

कम्पनीहरूले राजनीतिक अस्थिरता, बन्द–हडताल, आन्तरिक पर्यटन प्रवद्र्धनको कमी, पर्यटकमैत्री सार्वजनिक यातायातको अभाव तथा अन्तर्राष्ट्रिय हवाई उडानमा पर्याप्त सिट क्षमता नहुँदा पर्यटन व्यवसाय प्रभावित भएको जनाएका छन् ।

त्यस्तै, पर्यटन क्षेत्रका लागि आवश्यक भौतिक पूर्वाधारको कमी, विदेशी मुद्राको विनिमय दरमा हुने उतारचढाव र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धिका कारण हवाई भाडा महँगिनुले पनि पर्यटक आगमनमा असर पारेको कम्पनीहरूको विश्लेषण छ ।

प्राकृतिक तथा दैवी प्रकोप र अन्य अप्रत्याशित परिस्थितिले समेत पर्यटन व्यवसायमा अनिश्चितता थप्ने गरेको कम्पनीहरूले उल्लेख गरेका छन् ।

कम्पनीहरूका अनुसार आन्तरिक रूपमा उल्लेखनीय समस्या नरहे पनि बाह्य चुनौतीका कारण पर्यटक आगमन, होटलको व्यावसायिक गतिविधि तथा आम्दानी प्रभावित भएको छ । यही कारण अपेक्षित नाफा हासिल गर्न कठिनाइ भइरहेको उनीहरूको भनाइ छ ।

होटल तथा पर्यटन क्षेत्रका कम्पनीको नाफा रु. हजारमा

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T