काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ५०.८३ प्रतिशतले वृद्धि भएर १ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७८ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस वर्ष बिक्री आम्दानीमा भएको उल्लेख्य वृद्धिले कम्पनीको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक बिक्री आम्दानी ५५.७५ प्रतिशतले बढेर ११ करोड ६४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४६ लाख रुपैयाँ बराबरको बिक्री आम्दानी गरेको थियो ।
बिक्री आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको कुल मुनाफासमेत बढेको छ। गत वर्ष ३ करोड १४ लाख रुपैयाँ रहेको कुल मुनाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा ८१.६८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ९२ लाख ३९ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष बढेर १ करोड ६७ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँबाट बढेर ३७ करोड ४० लाख रुपैयाँ पुगेको छ। यसैगरी, जगेडा तथा कोषमा १ करोड ६३ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।
पूँजी वृद्धि भए पनि कम्पनीले प्रतिशेयर आम्दानीलाई सन्तोषजनक अवस्थामा राखेको छ। कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ ६१ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ३७ पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४७ रुपैयाँ २४ पैसा रहेको छ ।
यसैबीच, कम्पनीले उत्पादन क्षमता विस्तार र औद्योगिक पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेको छ । कैलालीको अत्तरियास्थित उद्योगको क्षमता वृद्धि गर्नुका साथै चालु आर्थिक वर्षभित्रै हेटौँडा औद्योगिक क्षेत्रमा अत्याधुनिक मेसिन तथा उपकरण जडान गरी सबै प्रकारका डेकोरेटिभ तथा इन्डष्ट्रियल पेन्ट्स उत्पादन गर्ने योजना कम्पनीले अघि बढाएको छ ।
बिक्री आम्दानी, सञ्चालन मुनाफा र खुद नाफामा देखिएको वृद्धिसँगै उत्पादन क्षमता विस्तारको योजनाले आगामी दिनमा कम्पनीको व्यावसायिक गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्