काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये ८ कम्पनी नोक्सानीमा गएका छन् । चालु आवको असोज मसान्तसम्म आउँदा ६ कम्पनीले मात्रै नाफा कमाउन सफल भएका छन् । जेनजी आन्दोलन, बाढीपहिरो, बीमा दाबीमा भएको वृद्धि तथा बैंक निक्षेपको ब्याजदरमा आएको गिरावटका कारण निर्जीवन बीमा कम्पनीहरूको नाफामा दबाब परेको कम्पनीहरूले जानकारी दिएका छन् ।
असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रभु इन्स्योरेन्सको मात्रै नाफा वृद्धि भएको छ । गत आर्थिक वर्षमा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५.७९ प्रतिशतले वृद्धि गर्दै ६ करोड ६८ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस अवधिमा राष्ट्रिय बीमा कम्पनी, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनी नाफामा रहेका छन् ।
चालु आवको पहिलो त्रैमाससम्म आउँदा युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, द ओरियन्टल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी नोक्सानीमा रहेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन, विभिन्न स्थानमा गएको बाढीपहिरो तथा बैंक निक्षेपको ब्याजदरमा आएको गिरावटले निर्जीवन बीमा कम्पनीहरूको वित्तीय कार्यसम्पादनमा असर पारेको हो ।
आन्दोलन तथा प्राकृतिक विपत्तिका कारण बीमा दाबी बढ्नु, सञ्चालन खर्चमा वृद्धि हुनु र बैंक निक्षेपमा प्राप्त हुने ब्याज आम्दानी घट्नुले कम्पनीहरूको नाफामा प्रत्यक्ष दबाब सिर्जना गरेको देखिन्छ ।
यसका अतिरिक्त पुनर्बीमा रकम प्राप्तिमा हुने ढिलाइ, दक्ष जनशक्तिको अभाव, लगानीका सीमित अवसर तथा निर्जीवन बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा पनि कम्पनीहरूका लागि चुनौती बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्