Skip to content
Prabhu

मौरीपालक किसान समस्यामा: स्वदेशी महले पाएन बजार

चितवन । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालु आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् ।

 

नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गतआवमा १६ हजार पाँच सय किसान मौरीपालन व्यवसायमा रहेकामा यस वर्ष घटेर १३ हजार आठ सयमा झरेका छन् । उनले भने, ‘बजारीकरणमा समस्या हुँदा किसानले व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था आएको छ ।’ कतिपय किसान विदेशिएका छन् भने कतिपयले व्यवसाय परिवर्तन गरेको उनाले जानकारी दिए।

 

चरनको अभाव र बिदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उनले बताए । उनले भने, ‘बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ ।’ विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादि हालीदिने, चोरी हुने र स्थानीय तहहरूले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै आनाकानी गर्ने गरेकाले समेत किसान पलायन हुँदै गएको उनको भनाइ छ ।

उनले भने, ‘किसान पलायन हुनुको मुख्य कारण चरन क्षेत्रको अभाव त छँदै थियो तर अहिले बजारीकरणको समस्या झन् बढी भयो ।’ आयातित महले नेपाली बजार भरिएको भन्दै उनले थप्नुभयो, “विभिन्न ब्राण्डका नाममा विदेशी मह बिक्री हुने गरेको छ ।’

 

नेपालमा वार्षिक चार हजार दुई सयदेखि चार हजार पाँच सय मेट्रिक टनसम्म मह उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित महमध्ये दुई हजार मेट्रिक टन मह गोदाममा थन्किएको उनले बताए । गत वर्षको एक हजार पाँच सय मेट्रिक टन मह अझै बिक्री हुन नसकेको उनले गुनासो गरे। उनले भने, ‘गुणस्तरीय भण्डारणको अभावका कारण घरमा खाटामुनि मह राख्नुपरेको छ ।’

आयातित महलाई सामान्य भन्सारको व्यवस्था भए नेपाली महले बजार पाउन सक्ने उनले बताए । खुला बजार नीतिका कारण मौरीपालन गर्ने किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ । ब्राण्डका नाममा अन्तर्राष्ट्रिय बजारमा नबिकेको मह नेपालमा आउने गरेको उनको भनाइ छ ।

 

आफूहरूले उपभोक्ता र सरकारलाई बुझाउन नसक्दा समस्या बढ्दै गएको उनले गुनासो गरे । मौरीपालन गर्दै आएका किसानले महले बजार नपाएपछि आन्दोलनको तयारी गर्न थालेको उनले जानकारी दिए । महासङ्घले चरणबद्ध आन्दोलन गर्ने भन्दै किसानसँग सल्लाह गरेको बताए । 

उनले भने, ‘किसानले मह पोख्ने र मौरी उडाउने कार्यक्रम गर्न दबाब दिइरहेका छन् । तर हामी चरणबद्धरूपमा अघि बढ्ने योजनामा छौं ।’ नेपालमा दुई जातका मौरी पालिँदै आइएको छ । एक लाख ६० हजार घार मेरीफेरा र एक लाख ७० हजार सेरेना मौरी पालिँदै आइएको अध्यक्ष घिमिरेले बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal