Skip to content
Prabhu

सेयर बजार परिसूचक १५ अंकले बढ्यो, कारोबार रकम ६ अर्ब बढी

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन पनि सामान्य अंकले बढेको सेयर बजार परिसूचक आज १५ दशमलव ४६ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २११९ दशमलव ६९ अंकमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये २ वटाको सेयर मूल्य घटेको छ भने ११ वटाको उपसमूहको सेयर मूल्य बढेको छ ।

बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ५ अर्ब बढीको कारोबार भएको बजारमा आज ६ अर्बभन्दा बढीको कारोबार भएको छ । आज ३१३ कम्पनीका २ करोड २१ लख ६७ हजार ६७८ कित्ता सेयर ८४ हजार १२६ पटक खरिद बिक्री हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ८४ अंकले बढेर ३७४ दशमलव ७० अंकमा पुगेको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा अंकुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य २० रुपैयाँ ७० पैसाले बढेर २२७ रुपैयाँ ७० पैसामा कारोबार बन्द भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal