Skip to content
Prabhu

साउनको अन्तिम सोमबार दुई लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार आज २ लाख भन्दा बढीले पशुपतिको दर्शन गरेका हुन् ।

प्रवक्ता अधिकारीका अनुसार बिहान ४ बजेदेखि राति आठ बजेसम्म दुई लाखभन्दा बढीले दर्शन गरेका हुन् । सुन्दरीजलबाट बोलबम यात्रा गरी पशुपतिनाथ मन्दिरमा जल चढाउने भक्तजनका कारण पनि पनि आज मन्दिर परिसरमा निकै घुइँचो लागेको उनले बताए । दर्शनार्थी तथा बोलबम यात्रामा सहभागीका लागि सहज होस् भनी कोषले आज मन्दिरका चार वटै ढोका विहानैदेखि खुला गरेको थियो ।

साउनमा हिन्दु धर्मावलम्बीले भगवान शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । यस अवसरमा शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन छ । ठूलो सङ्ख्यामा दर्शनार्थी उपस्थित भएपछि सुरक्षाकर्मी एवं स्वयमसेवकको सङ्ख्या पनि बढाइएको विकास कोषले जनाएको छ । भक्तजनको सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतको व्यवस्थापन गरिएको कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले बताए ।

आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायतका शिवालयमा भक्तजनका बिहानैदेखि भीड रहेको जनाइएको छ । ‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) भएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार साउनमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने चलन छ । बोलबम मधेसी समुदायले बढी मान्ने भए पनि पछिल्लो समय अन्य समुदायका भक्तजनहरु पनि सहभागी हुने गर्दछन् ।

आज विहान दुई दिने नेपाल भ्रमणमा नेपालमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । कोषका प्रवक्ता अधिकारीले सचिव मिस्री पशुपतिनाथ मन्दिर पुग्नु भइ दर्शन गरेको जानकारी दिए । उनका अनुसार भारतीय विदेश सचिव मिस्रीलाई पशुपति विकास कोषका पदाधिकारीहरुले आज स्वागत गर्नुका साथै भगवान पशुपतिनाथको प्रतीक, रुद्राक्ष, शालग्रामसहित पशुपति क्षेत्रका मूर्त, अमूर्त सम्पदाबारे लिखित पुस्तक उपहार दिइएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal