Skip to content
Prabhu

प्राधिकरणको प्रगति देखेर अत्तालिएकाहरु मेरो विरुद्धमा लागेः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणको प्रगति देखर अत्तालिएकाहरुले आफूविरुद्ध लागेको बताएका छन् । घिसिङले पछिल्लो समय विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफूविरुद्ध सुनियोजित रूपमा प्रहार भइरहेको भन्दै यस्तो कार्य प्राधिकरणका प्रगति देख्न नसक्नेहरुबाट भएको बताएका हुन् ।

उनले विज्ञप्तिमा नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआइजी) रमेश खरेलले एन्टी करप्सन नेटवर्कका तर्फबाट मिति २०८१ साउन २९ गते मंगलबारका दिन सामाजिक सञ्जालमार्फत मेराविरुद्ध सुनियोजित रूपमा दूषित मनसायकासाथ सार्वजनिक गरेको विवरण र सोही आधारमा विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषण गरिएका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘खरेलबाट मेराबिरुद्ध कुनै एक टेलिभिजनमार्फत निहीत स्वार्थकासाथ गलत तथा भ्रामक सूचनाको प्रयोगमार्फत कार्यक्रम उत्पादन गरी पटक–पटक सम्प्रेषण भइरहेको थियो ।

पत्रकारिताका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता र आचारसंहितको ठाडो उल्लं्घन तथा सञ्चारमाध्यमै दुरुपयोग गर्दै निज खरेलबाट मेरो र मेरो परिवारका सदस्यहरु (मुख्य रूपमा दाइ र भाइ) को चरित्रहत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले कसैको उक्साहटमा मेरा विरुद्धमा प्रचार भइरहेको थियो र छ,’ उनको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै स्वच्छ र यथार्थ समाचार वा टिप्पणी शिष्ट र मर्यादित भाषामा प्रकाशित गर्नु सञ्चार क्षेत्रको दायित्व रहे तापनि खरेलबाट मेराविरुद्धमा आफैं न्यायिक निकायजस्तो बनी दोषी करार गर्नु निन्दनीय भएको पनि उनको भनाइ छ । ‘सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिका कामकारबाही सार्वजनिक चासोका विषयहरु हुन्छन् र त्यस्ता व्यक्तिहरुलाई जनताप्रति उत्तरदायी र जवाफदेही बनाउन उनीहरु जहिले पनि निगरानीमा हुन्छन् ।

आमजनताले सम्बन्धित निकायमा उजुरी गर्न पाउने हक सम्बन्धमा म अनविज्ञ छैन,’ उनले भनेका छन्, ‘उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आपूm चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहीत स्वार्थकासाथ यस्ता कामहरु भइरहेका थिए र छन् ।’

उनले विज्ञप्तिमा अंशबण्डा गरी लामो समयदेखि मबाट छुट्टै बसिरहेका मेरा दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रूपमा राज्यलाई तिर्नुपर्ने कर तिरी आफ्नो व्यापार व्यवसाय इमान्दारीपूर्वक सञ्चालन गरिरहेको पनि बताएका छन् । ‘मैले आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको प्रष्ट पार्न चाहान्छु । यदि मैलै त्यस्तो गरेको पाइएमा राज्यका निकायहरुले छानबिन गर्ने नै छन्,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधान तथा प्रचलित कानुनको परिधिभित्र रहेर निष्ठासाथ दिनरात एवम् आफ्नो व्यक्तिगत जीवनलाई समेत प्रवाह नगरी अहोरात्र खटी नेपाल सरकारले दिइएको जिम्मेवारी निष्ठापूर्वक प्रतिबद्धताकासाथ पूरा गरिरहेको उनको दाबी छ । ‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमान्दारीपूर्वक जवाफदेही बनी आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई बद्नाम गराउने दुराशयकासाथ लगाइएका आरोपहरुको खण्डन गर्दछु । यस्ता आरोपको भ्रममा नर्पन सबैलाई अनुरोध गर्दछु,’ घिसिङले भनेको छन् ।

प्राधिकरणले हासिल गरेका प्रगति एवं उपलब्धिबाट अत्तालिएको केही स्वार्थ समूह (जो पहिलेबाटै सक्रिय थियो) र विद्युत महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले मलाई कमजोर बनाउन र मनोबल गिराउन मेरा विरुद्धमा सुनियोजित रुपमा लागिरहेको उनको भनाइ छ ।

प्रचलित सार्वजनिक खरिद कानून बमोजिम गरिएका खरिद सम्झौताहरु, विद्युत खरिद बिक्री सम्झौता (पिपिए) र अन्य कतिपय असान्दर्भिक विषयहरुलाई उचाल्नुले पनि यही कुरालाई पुष्टि गर्ने उनले बताएका छन् ।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य मेरा कुनै व्यक्तिगत र नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु’ विज्ञप्तिमा भनिएको छ । नेपाल विद्युत प्राधिकरणका हरेक कामकारबाहीहरु पारदर्शी रूपमा भइरहेको पनि उले विज्ञप्तिमा भनेका छन् । साथै सेवाहरु अझै पारदर्शी रूपमा अगाडि बढाइने उनको भनाइ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal