Skip to content
Prabhu

अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न खाद्य तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई निर्देशन दिएका छन् । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा नियुक्त भएका प्रकाशप्रसाद पोखरेललाई आज नियुक्तिपत्र प्रदान गर्ने कार्यक्रममा मन्त्री भण्डारीले यस्तो निर्देशन दिएका हुन् ।

यसअघि निमित्तको भूमिकामा रहेका अनुभवी व्यक्तिबाट सुझाव लिएर काम गर्न मन्त्री भण्डारीको सुझाब थियो । यसैगरी मन्त्री भण्डारीले खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेड गरी दुवै संस्थानले सन्तोषजनक परिणाम दिन नसकिरहेकाले वर्तमान चुनौतीलाई अवसरमा बदलेर परिणाममुखी काम गरेर देखाउन र संस्थाको गरिमा जोगाउन प्रभावकारी भूमिका निर्वाह गर्न पनि निर्देशन दिए । ‘अनुकूलतामा जोकोहीले काम गरे पनि प्रतिकूलतामा काम गरेर उत्कृष्ट परिणाम दिनसक्नुपर्छ’, मन्त्री भण्डरारीले भने, ‘तपाईहरू दुवै जनाले यी संस्थालाई उकास्न, संस्थाको गरिमा जोगाउन मजबुत तवरको भूमिका निर्वाह गर्नुपर्छ, मेरो शुभकामना छ ।’

मन्त्री भण्डारीले अहिले काम गर्न नसक्ने छुट कसैलाई नभएको बताउँदै खाद्य तथा व्यापार कम्पनी लिमिटेड तथा पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा नियुक्त भएका दुवै जनाको परीक्षणकाल आजदेखि सुरु भएको बताए । ‘अब तपाईहरूको पहिलो तीन महिनाको काम हेरिन्छ, त्यो अवधिमा सक्नुभएन भने तपाई आफैँले पुनःविचार गर्नुपर्ने हुन्छ,’ उनले भने ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal