Skip to content

कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय जितुहर्क तामाङ

nabil bank

गाईघाट । यहाँको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जितुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसकेका छन्। तर, उनी अहिले पनि कृषि र पशुपालनमा सक्रिय छन् । यही पेशाबाट उनले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

उनले १३ रोपनी जग्गामा फलफूलखेती गरेका छन् । सबैभन्दा धेरै लिच्ची र कागती रोपेका छन् । कागती बिक्रीबाट वार्षिक ५ लाख आम्दानी गर्ने गरेको उनले जानकारी दिए । विगत ३० वर्षदेखि उनले खसीबाख्रा पाल्दै आएका छन् । अहिले उनको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन् । एक सयमध्ये ३८ वटा त खसीमात्र छन् ।

उनले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पाल्नुभएको छ । खसीबाट वार्षिक रु सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी ४ लाख रुपैयाँसम्म आम्दानी गर्नुहुन्छ । विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय छन् ।

‘मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ’, उनले भने, ‘राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।’

अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिनुहुन्छ । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिनुहुन्छ । उहाँका चार छोरामध्ये उहाँ साहिँला छोरासँग बस्छन् ।

हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको बताए। उनलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भने, ‘उहाँ कर्मठ कृषक हुनुहुन्छ । यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ । उहाँ सफल कृषकमात्र नभई समाजसेवी पनि छन् ।’

पञ्चायतकालमा प्रधानपञ्च हुँदा उनले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गरे र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गरेको प्राचार्य थापामगरले जानकारी दिए। रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भने, “जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्किए ।’

असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताए। ‘सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन’, उनले भने, ‘यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।’

उनले दैनिक दूधभात, मासु र फलफूल खाने गर्छन् । आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक संकट पर्दा उनले सरसापटी दिने गरेको छ । ८० वर्षको उमेरमा पनि उनको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi