काठमाडौं । सेयर बजारमा पछिल्लो समय परिसूचक र कारोबार रकम दुवैमा कमी आइरहेको छ । साउन महिनाको अन्तिम कारोबार दिनमा उच्च कारोबार भएको सेयर बजारमा त्यसपछिका दिनमा भने कारोबार रकम निरन्तर घटिरहेको हो ।
साउन महिनाको अन्तिम कारोबार पछि सेयर बजारमा आइतबारसम्म १४ दिन सेयर बजार खुलेको छ । यो १४ कारोबार दिनमा सेयर बजार परिसूचक करिब साढे ३०० अंकभन्दा बढीले घटेको छ । १४ दिनको अवधिमा सेयर बजार परिसूचक ३५४ दशमलव ७९ अंकले घटेको छ ।
साउन महिनाको अन्तिम कारोबार दिनमा नेप्से परिसूचक ३००० दशमलव ८१ विन्दुमा बन्द भएको थियो । त्यसपछि भदौ महिना लागेसँगै परिसूचक ३५४ दशमलव ७९ अंकले घटेर सोमबार २६४६ दशमलव ०३ विन्दुमा पुगेको छ ।
यो अवधिमा कारोबार रकममा पनि भारी गिरावट आएको छ । भदौ महिनाको १४ दिनको कारोबारमा २० अर्ब ५१ करोड ९४ लाख १२ हजार ७९१ रुपैयाँले कमी आएको छ । साउनको अन्तिम कारोबार दिन साउन ३१ गते सेयर बजारमा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको कारोबार भएको थियो । सोमबारको कारोबार बन्द हुँदा सेयर बजारमा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँको कारोबार भएको छ ।
पछिल्लो समय सेयर बजार घट्ने र बढ्ने क्रमले निरन्तर्ता पाइरहेको छ । पछिल्लो ४ कारोबार दिनमा सेयर बजार लगातार रुपमा घटेको छ । अहिले बजार निकै अस्थिर देखिएको छ । बढ्दा पनि उच्च अंकले बढ्ने र घट्दा पनि उच्च अंकले घटिरहेको छ ।
गत साता पनि २२ अंकभन्दा बढीले घटेको सेयर बजार यो हप्ताको पहिलो दिन पनि २५ अंकले घटेर बन्द भएको थियो । आज (सोमबार) पनि बजार परिसूचक ५५ अंकले घटेर बन्द भएको छ । गत साता सेयर बजारमा २२ दशमलव २१ अंकको गिरावट आएको थियो ।
अहिलेको बजारको घटबढबाट सेयर बजारका जानकार तथा लगानीकर्ताहरु नै अच्चममा परेका छन् । सामान्य घटबढ सेयर बजारको प्रकृति नै भए पनि ठूलो संख्यामा घटबढ हुनु अस्वभाविक भएको उनीहरुको भनाइ छ ।
नयाँ सरकार बनेपछि निरन्तर उकालो लाग्न थालेको सेयर बजार दुई सातादेखि निरन्तर ओरालो यात्रमा रहेको छ । बजार निरन्तरजसो घटेपछि कतिपय लगानीकर्ता अहिले त्रसित बनेका छन् । नयाँ सरकार बनेपछि र अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै बजारमा उच्च वृद्धि देखिएको थियो ।
कारोबार रकममा त ऐतिहासिक रेकर्डनै बनेको थियो । साउन ३१ गतेको २९ अर्ब ८५ करोड बढीको कारोबार नेपाली सेयर बजारको अहिलेसम्मकै उच्च कारोबार रकम हो ।
अर्को तर्फ सेयर बजारका सुचकहरु पनि सकारात्मक रहेको अवस्थामा बजार घट्नुलाई पनि अस्वाभाविक रुपमा हेरिएको छ । अहिले बजारका सुचकहरु सकारात्मक नै रहेको नेपाल धितोपत्र दलाल संघका अध्यक्ष धर्मराज सापकोटाले बताए ।
त्यस्तै सेयर बजारका जानकार देव गुरागाईँले भने अहिलेको बजारको घटबढलाई अस्वभाविक नै मान्छन् । उनले मौका छोप्ने व्यक्तिहरुका कारण अहिलेको अवस्था आएको बताए । अर्को तर्फ बजारलाई स्वभाविक रुपमा चल्न दिनेभन्दा पनि जवरजस्ती बढाउन खोज्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।
सेयर मार्केटलाई विभिन्न हल्लाले पनि असर गरिरहेको सेयर बजारका जानकारहरुको भनाइ छ । त्यस्तै केही लगानीकर्ताहरुले भने सेयर बजार बढ्नुपर्ने जति बढीसकेको र अब बढ्नका लागि नीति नियमहरु आवश्यक रहेको बताउने गरेका छन् ।
सेयर बजार घट्ने र बढ्ने कुरा यसको सुन्दर पक्ष हो । घट्ने र बढ्ने हुन्छ । तर, एकै पटक धेरैको वृद्धि र गिरावटलाई भने स्वभाविक मान्न नसकिने लगानीकर्ताहरुको भनाइ छ । अर्को तर्फ १४ कारोबार दिनमा २० अर्ब ५१ करोड भन्दा बढी रकमको गिरावट आएको छ ।
अहिले बजारमा नयाँ सरकार बन्ने हल्ला चलेका कारणले पनि बजार घटेको लगानीकर्ताहरुको भनाइ छ । सरकार परिवर्तन हुने हल्लाहरु चलिरहेका छन् । सेयर बजारले स्थिर सरकार चाहे पनि नेपालमा लामोसमयसम्म एउटै सरकार सञ्चालन हुन सकिरहेको छैन । यो विगत देखिकै विडम्बना हो ।












प्रतिक्रिया दिनुहोस्