Skip to content
Prabhu

भदौ महिना लागेसँगै सेयर बजार ४ सय अंकको गिरावट, ३० अर्ब पुग्न लागेको कारोबार ६ अर्बमा झर्‍यो

काठमाडौं । भदौ महिना लागेपछि सेयर बजारमा भारी गिरावट आएको छ । साउन महिनाको अन्तिम कारोबार दिन साउन ३१ गते करिब ३० अर्बको हाराहारीमा कारोबार भएको बजारमा त्यस पछि भने लगातार रूपमा घटिरहेको हो ।
सेयर बजार भदौ महिनाको आजसम्म सेयर बजार १६ दिन खुलेको छ । यी १६ दिनमध्ये सेयर बजार जम्मा ५ दिन मात्रै बढेर बन्द भएको छ भने ११ दिन सेयर बजार घटेको छ । भदौ महिनाको १७ गते सेयर बजार १२७ अंकले बढेको थियो । त्यो नै भदौ महिनाको उच्च वृद्धि हो । सेयर बजार बढेका अरु ४ दिन भने सामान्य सुधार भएको थियो । सेयर बजारमा घटेको ११ दिनमा हरेक दिन दोहोरो अंकले बजार घटेको छ ।
भदौ महिनाको १६ दिनको कारोबार अवधिमा सेयर बजारमा करिब ४ सय अंकको गिरावट देखिएको छ । साउनको अन्तिम कारोबार दिन ३००० दशमलव ८१ विन्दुमा बन्द भएको बजार त्यस पछिको आज (बुधवार) सम्मको कारोबार अवधिमा ३९० दशमलव ६ अंकले घटेको छ । भदौ लागेसँगै कारोबार रकममा पनि निरन्तर रूपमा गिरावट भइरहेको छ । सेयर बजारमा यी १६ दिनको अवधिमा २३ अर्ब १० करोड ७३ लाख ४० हजार १६५ रुपैयाँले कमी आएको छ ।
साउनको अन्तिम कारोबार दिनमा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको कारोबार भएको बजारमा आज (बुधवार) को कारोबार बन्द हुँदा ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार ५१ रुपैयाँको मात्रै कारोबार भएको छ । भदौ महिना लागेसँगै परिसूचक र कारोबार रकम दुवैमा निरन्तर रूपमा गिरावट आइरहेको हो । बजारका जानकारका अनुसार अहिले बजारका सूचकहरू सकारात्मक नै छन् । बजारका सूचकहरू सकारात्मक भए पनि बजार भने लगातार रूपमा घटी रहेको छ ।
सेयर बजारका जानकार देव गुरागाईँले बजार राजनीतिक कारणले बढेकाले अहिले केही समय घटेको दाबी गरे । ‘साउन महिनामा जुन रूपमा बढेको थियो । त्यो राजनीतिक परिवर्तनले बढेको थियो । अहिले केही दिन देखि घटेको छ,’ उनले भने । यसरी केही समय हौसिएको लगानीकर्ताहरूका कारण बढेको बजार दीर्घकालीन नहुने उनको भनाइ छ । ‘पहिले जुन रूपमा बढेको थियो अहिले १६ दिनमा फेरि बजार घटेको छ,’ उनले भने ।
यस्ता केही समयका लगानीकर्ताहरूले गर्दा बजार लामो समयसम्म जान नसक्ने कारण अहिलेको अवस्था देखिएको गुरागाईँको भनाइ छ । अहिले नै बजार बढी हाल्ने अवस्था नरहेको उनको भनाइ छ । ‘चाडपर्व नजिक आएकाले अब बजार बढ्ने अवस्था म देख्दिन,’ उनले भने ।
नयाँ सरकार बनेपछि निरन्तर उकालो लाग्न थालेको सेयर बजार भदौ लागेपछि भने घट्दै गएको छ । पछिल्लो समय सरकार परिवर्तनको विषयले गर्दा पनि बजार घटेको केही लगानीकर्ताहरूको भनाइ छ । त्यस्तै केही लगानीकर्ताहरूले भने राजनीतिक कारणले बढ्नु पर्ने जति बढेकाले अब सेयर बजार बढ्नका लागि नीतिगत सुधारको खाँचो रहेको बताएका छन् ।
सेयर बजार घट्ने र बढ्ने कुरा यसको सुन्दर पक्ष हो । घट्ने र बढ्ने हुन्छ । तर, एकै पटक धेरैको वृद्धि र गिरावटलाई भने स्वाभाविक मान्न नसकिने लगानीकर्ताहरूको भनाइ छ । बजार सरकार परिवर्तनका कारण भन्दा पनि यो क्षेत्रको नीति नियमका कारण घटबढ हुनु पर्ने लगानीकर्ताहरूको भनाइ छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal