Skip to content
Prabhu

भदौ महिनामा सेयर बजारको ओरालो यात्रा, परिसूचक ४२० अंकले घट्दा कारोबार रकममा २२ अर्ब बढीको कमी

nabil
काठमाडौं । साउन महिनामा उच्च अंकले बढेको सेयर बजार भदौ लागेपछि भने उच्च अंकले घटेको छ । साउन महिनाको अन्तिम कारोबार दिनको भन्दा भदौ महिनाको अन्तिम कारोबार दिनमा सेयर बजार परिसूचक ४२० अंकले घटेको छ भने कारोबार रकममा करिब साढे २२ अर्ब रुपैयाँले कमी आएको छ ।
साउनको अन्तिम कारोबार दिन ३१ गते तथा भदौको पहिलो कारोबार दिन २ गतेका दिन सेयर बजार परिसूचक ३००० दशमलव ८१ विन्दुमा रहेको थियो । ३००० विन्दु माथि पुगेर साउन महिनालाई बिदाइ गरेको बजारले भदौ महिनालाई भने २५८० विन्दुमा बिदाइ गरेको छ । साउनको अन्तिम कारोबार दिन भन्दा भदौको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक ४२० दशमलव ०५ अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २५८० दशमलव ७६ विन्दुमा पुगेको छ ।
भदौ महिनाको १९ कारोबार दिन मध्ये जम्मा ६ दिन मात्रै बजार बढ्यो भने बाँकी १३ दिनको कारोबारमा बजार घटेको छ । भदौ महिना लागेसँगै कारोबार रकममा करिब २२ अर्ब बढीले कमी आएको छ । साउनको अन्तिम कारोबार दिन २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको कारोबार भयो । कारोबार रकमका आधारमा यो अहिलेसम्मकै उच्च कारोबार रकम हो । नयाँ सरकार बने पछि लगातार रूपमा बढी रहेको सेयर बजारले कारोबार रकममा दिन दिनै नयाँ रेकर्ड बनाइरहेको थियो । तर भदौ लागेसँगै सेयर बजारमा लगातार गिरावट आइरहेको छ ।
पछिल्ला केही दिनहरूमा त सेयर बजारको कारोबार रकम १० अर्ब भन्दा मुनि सीमित रहेको छ । जबकि साउन महिनामा अधिकांश दिनहरूमा कारोबार रकम २० अर्ब भन्दा माथि हुने गरेको थियो ।
अर्थविद् तथा सेयर बजारका जानकार डा. चन्द्रमणि अधिकारीले भने यसलाई स्वाभाविक नै मान्छन् । अहिले बजार करेक्सनको अवस्थामा रहेको उनको भनाइ छ । नेपालको सेयर संस्थागत हुन नसकेको र केही उक्साहटमा लगानी गर्नेहरूका कारणले पनि कारोबार रकममा कमी आएको उनले बताए । ‘हाम्रो सेयर बजार अहिले पनि संस्थागत हुन सकेको छैन । संस्थाहरू त छन् तर पनि संस्थागत भने भएको छैन,’ उनले भने । संस्थागत भएको खण्डमा लगानी गर्नेहरूले संस्था हेरेर बजार आउने उनको दाबी छ । सेयर बजार नयाँ सरकार र नयाँ अर्थमन्त्रीका कारणले भन्दा पनि नीति र थितिले बढ्नु पर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालको हल्लाका कारणले बजारमा आउनेहरू दीर्घकालीन लगानीकर्ता नभएको उनको भनाइ छ । बैंकको ब्याजदर कम भएको अवस्थामा लगानी गरिदिउन भन्ने कुराले पनि बजार अस्थिर भएको उनको भनाइ छ । अर्को कुरा म्यानुपुलेसन गरेर कमजोर कम्पनीको सेयर बजार बढाइएको उनको भनाइ छ ।
अहिले अर्थतन्त्रका सूचकहरू राम्रो नभएको अवस्थामा लगानी कम भएकाले सेयर बजारका कारोबार रकम घट्दै गएको उनले बताए । उनले अहिलेको बजार करेक्सन भएको भन्दै आर्थिक सूचकमा देखिएको सङ्कुचनले गर्दा केही समय यस्तै हुने पनि बताए ।
त्यस्तै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरले बजार बढ्ने घट्ने रिजन नै नभएको बताइन । लगानीकर्ताले लगानी गरेपछि फाइदा खोज्ने र नाफा बुक गरेको दाबी गरिन् । अर्को तर्फ उनले चाडपर्वको समय भएकाले पनि लगानीकर्ताहरूले यसबाट सेयर बजारबाट रकम झिकेकाले पनि बजारको रकम त्यता गएको हुन सक्ने आङ्कलन गरिन् ।
बजार बढ्दा लगानीकर्ताहरू उत्साहित हुने र घट्दा लगानीकर्ता निरुत्साहित हुने कारणले पनि बजारमा पैसा आउन नसकेको उनले बताइन् । समग्रमा सेयर बजारका सूचकहरू सकारात्मक नै रहेको उनको भनाइ छ । बजार सेन्टिमेन्टले बढ्ने भएकाले बजार घटबढका लागि कुनै रिजन नै नचाहिने उनले बताइन् । ‘वास्तममा भन्दा नाफा बुक गर्न खोज्दा र बजार घटेका कारण सेयर बजारमा लगानीकर्ताहरू पर्ख हेरको अवस्थामा रहेका छन् । जसले गर्दा बजारमा रकम आउन सकेको छैन,’ उनले भनिन् ।
सेयर बजारका जानकार देव गुरागाईँ भने बजार राजनीतिक कारणले बढेकाले अहिले केही समय घटेको दाबी गर्छन् । ‘साउन महिनामा जुन रूपमा बढेको थियो । त्यो राजनीतिक परिवर्तनले बढेको थियो । अहिले केही दिन देखि घटेको छ,’ उनले भने । यसरी केही समय हौसिएको लगानीकर्ताहरूका कारण बढेको बजार दीर्घकालीन नहुने उनको भनाइ छ । हौसिएर बजारमा आएकाहरू अहिले पर्ख हेरेका अवस्थामा रहेका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal