Skip to content
Prabhu

लाभांश घोषणा सिजनः नेप्सेमा सूचीकृत ३३ कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं । अहिलेको समय भनेको लाभांश घोषणा गर्ने समय हो । अहिले केही कम्पनीले लाभांश घोषणा गरेका छन् भने केही घोषणाको तयारीमा छ । केही कम्पनीले त दसैंअघि नै आफ्नो सेयरधनीलाई लाभांश दिने गरी तयारी
गरेका छन् ।

हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ३३ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । जसमा दुई बैंक, पाँच हाइड्रोपावर, एक लघुवित्त, एक होटल र हाथवे इन्भेष्टमेन्टसहितका विभिन्न म्यूचुअल फण्डहरुले प्रतिफल घोषणा गरेका हुन् ।

हालसम्म करिब तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सो कम्पनीहरुमध्ये अधिकांशले लाभांश पारित गर्न वार्षिक साधारणसभाको मिति पनि घोषणा गरिसकेका छन् ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी लाभांश क्षमता भएको एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा बैंकले लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंक सबैभन्दा अगाडि लाभांश घोषणा गर्ने बैंक भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सात प्रतिशत बोनस र पाँच प्रतिशत नगदसहित १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

नेप्सेमा सूचीकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये पाँच वटाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेका छन् । कम्पनीहरुमा अपि पावर कम्पनीले ९ प्रतिशत बोनस र ०.४७३७ प्रतिशत नगदसहित ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

त्यस्तै, सुपरमाई हाइड्रोपावरले ७ प्रतिशत बोनस र ५.६३ प्रतिशत नगदसहित कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । त्यस्तै माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो कार्यको लागि कम्पनीले वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ ।

पछिल्लो समय सेयर बजारमा सर्वाधिक कारोबार भइरहेको सिईडिबीले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । भगवती हाइड्रोपावरले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ४ प्रतिशत बोनस र १०.७३ प्रतिशत नगदसहित १४.७३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लाभांश घोषणा गर्ने लघुवित्तमा गुराँस लघुवित्त पहिलो भएको छ । यो लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १४.२५ नगद र ०.७५ प्रतिशत बोनससहित १५ प्रतिशतल लाभांश प्रस्ताव गरेको छ ।

त्यस्तै म्युचुअल फण्ड अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको प्रबर्धन रहेको आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ का एकाईधनीहरूलाई ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का एकाइ धनीहरूलाई ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।

एनआइएमबी एस क्यापिटलले एनआईविएल ग्रोथ फण्डका एकाइ धनीहरूलाई ६.३५ प्रतिशत, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का एकाइ धनीहरूलाई ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

एनआईसी एसिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत र ब्यालेन्सड फण्डले ९.२५ प्रतिशतका दरले आफ्ना एकाइ धनीहरूलाई प्रतिफल वितण गर्ने भएको छ ।

त्यस्तै सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका एकाइ धनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका एकाइ धनीलाई करसहित १० प्रतिशतका दरले प्रतिफल पाउने भएका छन् । कुमारी इक्वीटी फण्डका एकाइ धनीहरूले कर सहित ९.५० प्रतिशत र कुमारी धनवृद्धि योजनाका एकाइ धनीहरुले ९.५० प्रतिशतका दरले नगद लाभांश पाउने भएका छन् ।

त्यस्तै लक्ष्मी सनराइज क्यापिटलले सनराइज फस्र्ट म्युचुअल फण्डका एकाइ धनीहरूलाई करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका एकाइ धनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने भएको छ । यस्तै, लक्ष्मी उन्नति कोषका एकाइ धनीहरूलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ का एकाइ धनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal