काठमाडौं । कानुनमा भएको सुविधाअनुसार अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई धितोपत्र बोर्डमा साउन ३ गते नियुक्त गरेका थिए ।
धितोपत्र बोर्डमा अध्यक्ष पद खाली भए अर्थ मन्त्रालयको प्रतिनिधिले अध्यक्षको रूपमा काम गर्न पाउने धितोपत्रसम्बन्धी ऐनमा व्यवस्था छ ।
अर्थमन्त्री विष्णु पौडेलले बराललाई त्यही कानुन सुविधाअनुसार बोर्ड अध्यक्ष बनाएर पठाएका हुन् । व्यावसायिक घरानाबिच आफू निकटका व्यक्तिलाई अध्यक्ष बनाएर पठाउने लडाइँमा राजनीतिक नेतृत्वले साथ दिएको कारण ८ महिनादेखि धितोपत्र बोर्डमा अध्यक्ष पद खाली रहेको छ ।
बोर्डको अध्यक्षको लागि छनोट समितिले अन्तर्वार्ता दिन नगएका ३ जनालाई दोस्रो पटक अन्तर्वार्ता दिन आउन असोज १८ गतेको लागि सूचना जारी गरेको छ । असोज १८ गते पनि २ पटक अन्तर्वार्ता दिन नगएका तीन जना जाने नजाने टुंगो भने छैन ।
यही अवस्था गत वर्ष संशोधन भएको धितोपत्र बोर्ड ऐन अनुसार अध्यक्षको जिम्मा पाएका अर्थ मन्त्रालयका सहसचिव महेश बराल भने आफ्नो कार्यकाल गर्नुपर्ने कामभन्दा पनि बरालिएर नै बिताउने तयारीमा देखिएका छन् ।
धितोपत्र बोर्डमा अध्यक्षको पदबहाली गर्दै बोर्ड अध्यक्ष बरालले सूचीकृत संगठित संस्था तथा बजार सहभागीहरूको संस्थागत सुशासन, बोर्ड तथा बोर्डमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि, बजारको विकास, विस्तार र स्थायित्वमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बोर्ड अध्यक्षको हिसाबले उनलाई अहिले पाइप लाइनमा रहेको साधारण सेयर तथा हकप्रद सेयर र ऋणपत्र स्वीकृतिको अधिकार रहेको छ । तर,उनले त्यसमा भने कुनै ध्यान दिएका छैनन् । बोर्ड अध्यक्ष आए पनि उनको काम घुम्ने र रमाउनेमा नै रहेको बोर्ड कर्मचारी स्रोतले जानकारी दियो ।
“केही समयको लागि आएको हुँदा सेयर बजारमा देखाउने केही काम गर्ने भन्दा पनि रमाएर जानेमा अध्यक्ष ज्यू देखिनु भएको छ,”बोर्डका एक उच्च कर्मचारीले भने ।
बोर्ड अध्यक्ष बराल नेपालमा केही गर्न नसके पनि ३ देखि ४ अक्टोबरमा जाम्बिया जान लागेका छन् । अमेरिकाको न्यूयोर्कमा मुख्यालय रहेको इन्टरनेशनल स्वाप एण्ड डेरिभेटिभ एशोसियनले आयोजना गर्न लागेको कार्यक्रममा बराल जाम्बिया जान लागेका हुन् । धितोपत्र बोर्डमा अध्यक्षको रूपमा बसेर विवाद नहुँने वाणिज्य बैंकको ऋणपत्र समेत स्वीकृत गर्न नसकेका बरालले बोर्ड अध्यक्षको रूपमा विदेश भ्रमणको मोहमा परेका हुन् ।
बोर्ड अध्यक्षको रूपमा रमेश हमालको कार्यक्रम सकिएपछि बोर्डमा अहिले केही पनि काम भएको छैन । वर्षमान पुनले अध्यक्ष बनाएका सहसचिव नरेन्द्र राना रिलायन्सको आइपीओ विवादमा मुछिए । अहिलेका अध्यक्ष बरालले पनि सार्वजनिक निष्कासन निर्णय लिनुभन्दा घुम्ने र रमाउनेमा ध्यान केन्द्रित गरेर कार्यकाल बिताउन खोजेका हुन् ।
प्रतिक्रिया दिनुहोस्