काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेका लागि आफ्नो साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ७ गतेका लागि साधारणसभा बोलाएको हो ।
सभाले लाभांश र हकप्रद लगायतका प्रस्तावहरू पारित गर्ने छ । कम्पनीको सभा काठमाडौंको लाजिम्पाटस्थित नेपाली चुलोमा मंसिर ७ गते बिहानको ८ बजेदेखि सुरु हुने जनाइएको छ । सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफा समेतबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।
साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । यसका साथै कम्पनीको रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, लगानी अनुमोदन तथा थप गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेका छन् ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा २७ गतेसम्म कायम सेयरधनीहरू सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्