Skip to content
Prabhu

काया यू–१६ फुटसल प्रतियोगिता मंसिर १७ गतेदेखि

nabil

काठमाडौं । काया स्पोर्ट्सको आयोजनामा काया यू–१६ कप सेभेन–ए–साइड फुटसल प्रतियोगिता मंसिर तेस्रो साता हुने भएको छ । नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ काया स्पोर्ट्सले मंसिर १७ देखि २० सम्म यू–१६ काया कप आयोजना गर्न लागेको हो ।

संस्थाको ‘कायापलट’ कार्यक्रम अन्तर्गत यो पहिलो प्रतियोगिता रहेको आयोजकले जनाएको छ । ३२ विद्यालय सहभागी रहने यस प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । खेलाडीहरुलाई धेरै भन्दा धेरै प्रतिस्पर्धा गर्ने अवसर मिलोस भन्ने लक्ष्यका साथ प्रतियोगिताका हरेक टोलीले कम्तिमा ३ खेल खेल्न पाउने समीकरण रहेको छ । टिम दर्ता शूल्क १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि हालसम्म १६ टोली दर्ता भइसकेको काया स्पोर्ट्सका संस्थापक पविन कार्कीले जानकारी दिए ।

काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुने प्रतियोगिता ७–ए–साइड मैदानमा हुनेछ । सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् । मंसिर १७ र १८ गते समूह चरणका खेल हुँदा मंसिर २० गते भने प्रतियोगिताको नकआउट चरणको खेल हुनेछ । सहभागी खेलाडी र विद्यालयबीच आपसी भाइचारालाई प्रोत्साहन गर्न आयोजकले मंसिर २२ गते गाला डिनरसहित प्रतियोगिताको समापन समारोह गर्ने तयारी आयोजकको छ । यसबाहेक खेलाडीहरुको हौसला अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने योजना रहेको सह–आयोजक पाना नेपालका विकल्प खरेलले जानकारी दिए ।

कायाले प्रतियोगिता आयोजनासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई पनि सहयोग गर्ने बताएको छ । खेलकुदले समाजमा सकारात्मक प्रभाव पार्ने हुनाले फुटबल प्रतियोगिता आयोजना गर्न लागेपनि न्यू डायमन्डले नेपाली खेलकुदमा उदाहरणीय कार्य गरिरहेकोले प्रोत्साहन गर्ने निर्णय लिएको कार्कीले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal