Skip to content
Prabhu

लगानी सम्मेलनः निजी क्षेत्रका ३१ वटा प्रोजेक्ट सोकेसमा

nabil
काठमाडौँ । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रका ३१ वटा प्रोजेक्ट सोकेसमा राखिने भएको छ ।
लगानी बोर्डका अनुसार केबलकार, पार्किङ, जलविद्युत्, विद्यालयलगायतका निजी लगानीका प्रोजेक्ट पनि विदेशी लगाानीका लागि सम्मेलनमा राखिनेछन् ।
बोर्डका अनुसार निजी क्षेत्रका प्रोजेक्टमा सिकलेस अन्नपूर्ण केबलकार, जलपादेवी केबलकार, कम्पोस्ट फर्टिलाइजर, भरतपुर आइल्याण्ड रिसोर्ट एण्ड वाटरल्याण्ड, आइएमई सिमेन्ट प्रोजेक्ट  (बैतडी), काठमाडौँ टक्निकल स्कुल, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स, रिभोल्भिङ पार्किङ छन् । साथै लाइमस्टोन एक्सकाभेसन एण्ड ट्रान्सपोर्टेसन युजिङ पोडवे, ह्याप्पी ल्याण्ड फन पार्क एण्ड रिसोर्ट सुरुंगा झापा, नेचुरल एग्रिकल्चर फार्म गोरुसिंगे, र १० लक्जरी होटल्ल्स अन त ट्रेल अफ माउण्ट एभरेष्ट (तीन  चरणमा) छन् ।
त्यसैगरी  ऊजातर्फ टिप्ल्याङ काली गण्डकी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट, मिडल कालीगण्डकी हाइड्रोइलेक्ट्रिसिटी, अपर सानी भेरी हाइड्रोपावर, मुगु कर्णाली हाइ हाइड्रोइलेक्ट्रिसिटी,  पेल्मा खोला, दाना खोला, माथिल्लो बुढीगण्डकी, लान्द्रुक  मोदी, बलेफी खोला, चुवा खोला, नरखोला, माथिल्लो चुवा लुरुप्या खोला, माथिल्लो अप्सुवा, माथिल्लो भेरी हाइड्रोइलेक्ट्रिसिटी, सुर्के दूधकोसी, माथिल्लो मर्स्याङदी, अप्सुवा खोला १,
माकाली सेती क्यासकेड र सेती नदी पिकिङ हाइड्रोइलेक्ट्रिसिटी छन् ।
लगानी सम्मेलन दुई दिनसम्म चल्नेछन् । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुईवटा विशेष सत्र सञ्चालन हुनेछन् । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ ।
     दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी, र नेपालको निर्यात प्रवद्र्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृङ्खलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ ।
     ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन काठमाडौँस्थित सोल्टी होटलमा आयोजना गर्नेगरी स्थान तय भइसकेको छ । सम्मेलनका लागि एक सय ५० हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ । यसअघि लगानी बोर्डले एक सय २५ वटा आयोनजा ‘सोकेस’मा लैजाने तयारी गरिहेकोमा अहिले निजी क्षेत्र, प्रदेश र स्थानीय तहकासमेत केही आयोजना थपिएको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
     “निजी क्षेत्र, प्रदेश र स्थानीय तहबाटसमेत सोकेसका लागि प्रस्ताव गरिएका आयोजनासमेत गरेर एक सय ५० हाराहारी पुगेका छन् । निजी क्षेत्र र स्थानीय तहका आयोजनाबारे जानकारी दिने छुट्टै कक्ष र उहाँहरुकै जनशक्ति खटाइनेछ”, प्रवक्ता उपाध्यायले भने, “कुन प्रदर्शनी कक्षमा कस्ता आयोजना राख्ने, त्यसको व्यवस्थापन कसरी गर्ने र लगानीकर्तालाई आयोजनाबारे अधितम जानकारी कसरी दिन सकिन्छ भनेर पूर्वतयारी चलिरहेको छ ।” लगानी सम्मेलन स्थलमा २२ देखि २५ वटा कक्ष रहनेगरी तयारी भइरहेको उनको भनाइ छ ।
     सम्मेलनका लागि अब १२ दिन मात्रै बाँकी छ । सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयम्सेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्व तयारी तीव्र बनाइएको उपाध्यायले जानकारी दिनुभयो । आइतबार बेलुकासम्ममा ३१ देशका दुई सय ६० भन्दा बढी अतिथि सम्मेलनमा आउने निक्र्योल भइसकेको बोर्डले जनाएको छ ।
लगानी सम्मेलनका क्रममा तीनवटा परियोजनाको विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी भइरहेको र अहिले विकासकर्ता कम्पनीसँग त्यसबारे वार्ता चलिरहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । सम्मेलनका क्रममा नेपाल–चीन मैत्री औद्योगिक पार्क, अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ ।
त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को तयारी छ । लगानी सम्मेलनअघि प्रधानमन्त्रीको अध्यक्षतामा रहने लगानी बोर्डको बैठक बस्ने तयारी भइरहेको पनि बोर्डले जनाएको छ ।
     सम्मेलनमार्फत् विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ । त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रुपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छ वटा, आयोजना पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटालगायतका आयोजना सोकेसमा लगिँदैछ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal