एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको, क्यानडा र चीनमाथि असाधारण नयाँ ट्यारिफ लगाउने घोषणा गरेका छन् । यी ट्यारिफहरू अमेरिकाभित्र लागू औषध र अवैध आप्रवासीहरूको प्रवाहलाई रोक्नका लागि लक्षित गरिएको ट्रम्प प्रशासनको भनाइ छ । उक्त निर्णयले अमेरिकी उपभोक्ताका लागि विभिन्न सामानहरूको मूल्यमा उल्लेखनीय वृद्धि ल्याउने सम्भावना पनि छ ।
ट्रम्पले पछिल्ला केही महिनाहरूमा बारम्बार वाचा गरेअनुसार, यी ट्यारिफहरू मेक्सिकोबाट आयात हुने सबै सामानहरूमा र क्यानडाबाट आयात हुने अधिकांश सामानहरूमा २५ प्रतिशत लाग्नेछ भने चीनबाट आयात हुने सामानहरूमा १० प्रतिशत ट्यारिफ लाग्नेछ ।
यद्यपि ट्रम्प प्रशासनका अधिकारीहरूले शनिबार ट्यारिफहरू लागू गर्नुको उद्देश्य फेन्टानाइल तथा अवैध आप्रवासीहरूको प्रवाह रोक्नु भएको बताएका छन् । उनीहरूले ट्यारिफ हटाउने कुनै निश्चित मापदण्ड भने तोकेका छैनन् । तर अवैध आप्रवासीहरू र लागू औषधहरूको प्रवाह रोकिएपछि मात्र ती हट्न सक्ने संकेत गरेका छन्।
यी ट्यारिफहरूले प्रतिशोध निम्त्याउने सम्भावना छ, जसले ती प्रभावित राष्ट्रहरू र अमेरिका दुवैको अर्थतन्त्रमा ठूलो असर पुर्याउन सक्छ । यस कुरालाई मध्यनजर गर्दै ट्रम्पको कार्यकारी आदेशमा यस्तो धारा समावेश गरिएको छ, जसले कुनै पनि राष्ट्रले अमेरिकी सामानहरूमाथि नयाँ ट्यारिफ लगाएमा, अमेरिकी ट्यारिफहरूलाई अझ वृद्धि गर्न सकिनेछ ।
क्यानडाको उर्जासम्बन्धी उत्पादनहरूमा मात्र १० प्रतिशत ट्यारिफ लाग्नेछ । धेरै अमेरिकी नागरिकहरू तेल, विद्युत, प्राकृतिक ग्यास जस्ता क्यानडाली उर्जासम्बन्धी उत्पादनहरूमा निर्भर छन् । जब यी ट्यारिफहरू लागू हुन्छन्, तब ती सामानहरूको लागत बढ्न सक्छ।
यी ट्यारिफहरू लागू गर्न, ट्रम्पले आफ्नो कार्यकारी आदेशमा अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक अधिकार ऐनअन्तर्गत राष्ट्रिय आर्थिक आपतकाल घोषणा गरेका छन्, जसले आपतकालीन परिस्थितिमा राष्ट्रपतिलाई एकपक्षीय रूपमा आयात व्यवस्थापन गर्ने अधिकार दिन्छ ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसअघि नै ट्रम्पले नयाँ ट्यारिफ लागू गरेमा क्यानडाले बलियो र छिटो जवाफ दिने बताइसकेका छन् ।
मेक्सिको, चीन र क्यानडा संयुक्त राज्य अमेरिकाका तीन प्रमुख व्यापारिक साझेदारहरू हुन् । सन् २०२३ मा, मेक्सिकोले चीनलाई पछाडि पार्दै अमेरिकामा सबैभन्दा बढी सामान निर्यात गर्ने राष्ट्रको रूपमा अग्रस्थान प्राप्त गरेको थियो ।
यसअघि, चीनले दुई दशकसम्म अमेरिकी आयातको प्रमुख स्रोतको रूपमा स्थान बनाएको थियो । मेक्सिकन र क्यानडाली सामानहरू भने अमेरिकामा लगभग शुल्क–मुक्त रूपमा निर्यात हुँदै आएका छन् ।
सन् २०२३ मा, मेक्सिकोले संयुक्त राज्य अमेरिकामा ४६७ अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो, जबकि चीन र क्यानडाले क्रमशः ४०१ अर्ब डलर र ३७७ अर्ब डलर बराबरको सामान अमेरिका निर्यात गरका थिए । यी तीन राष्ट्रहरूले सन् २०२३ मा अमेरिका भित्र आयात गरिएका लगभग तीन ट्रिलियन डलर मूल्य बराबरका सामानहरू मध्ये ४२ प्रतिशत हिस्सा ओगटेका थिए ।
क्यानडा अमेरिकाका लागि सबैभन्दा ठूलो निर्यात बजार रह्यो, जसमा अमेरिकाले ३२२ अर्ब डलर बराबरको सामान निर्यात गरेको थियो, जबकि मेक्सिको र चीनले क्रमशः ३०९ अर्ब डलर र १३१ अर्ब डलर बराबरका अमेरिकी सामान आयात गरेका थिए ।
यी तीन राष्ट्रहरूले सन् २०२३ मा अमेरिका द्वारा विश्वभर निर्यात गरिएका कुल १.९ ट्रिलियन डलर बराबरका सामानहरूमध्ये ४० प्रतिशत हिस्सा ओगटेका थिए ।
प्रतिक्रिया दिनुहोस्