एजेन्सी । जबदेखि डोनाल्ड ट्रम्प अमेरिका राष्ट्रपतिको रूपमा आएका छन्, तबदेखि विश्वभरका सेयर बजारमा उतारचढावको माहोल छ र ‘सुरक्षित लगानी’ मानिने सुनलाई लिएर यस्ता प्रश्नहरू इन्टरनेटमा खोजी गरिँदैछन् ।
मंगलबारको सुरुवाती कारोबारमा सुनले फेरि तीव्रता देखायो । अल इन्डिया सर्राफा एसोसिएसनका अनुसार एक तोलाको मूल्य एक लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ । यो सोमबारको तुलनामा मंगलबार एक हजार ९०० ले बढि हो । एउटा पक्षमा सुनको मूल्य बढिरहेको छ, भने अर्काे पक्षमा डलरसँग तुलना गर्दा नेपाली रुपैयाँ कमजोर भइरहेको छ ।
मंगलबार एक अमेरिकी डलर बराबर १३९ रुपैयाँ ८० पैसा छ । विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण अमेरिकी राष्ट्रपतिको मेक्सिको, क्यानडा, र चीनमाथि नयाँ ट्यारिफ लगाउनु तथा विश्वभरका सेयर बजारमा गिरावटको वातावरण बन्नु हो ।
महँगीको आशंका
ट्रम्प प्रशासनका यी कठोर कदमहरूले विश्वभर महँगी बढ्ने आशंका व्यक्त गरिएको छ । लगानीकर्ताहरू सेयर बजारमा हुने सम्भावित नोक्सानको क्षतिपूर्ति गर्न सुनमा लगानी गरिरहेका छन् । भारीय बजारका बजार विश्लेषक आसिफ इकबाल भन्छन्, “वर्तमान परिस्थितिमा धेरै लगानीकर्ताहरू सुनलाई हेजिङ रणनीतिका रूपमा हेर्दैछन् । उनीहरूलाई आशंका छ कि सेयर बजारमा नोक्सान हुन सक्छ, त्यसैले उनीहरू सुनमा लगानीको विकल्प खोजिरहेका छन् ।”
अर्थशास्त्री प्रोफेसर अरुणकुमार भन्छन्, “डोनाल्ड ट्रम्पले ट्यारिफ लगाएपछि अनिश्चितताको माहोल बनेको छ । जब विश्वमा अनिश्चितता हुन्छ, तब मानिसहरू सुरक्षा खोज्छन्। सुनको माग बढ्छ, जसका कारण यसको मूल्य बढ्छ ।”
वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै क्यानडा र मेक्सिकोबाट आयात गरिने वस्तुहरूमा २५ प्रतिशत तथा चीनमा १० प्रतिशत ट्यारिफ लगाउने आदेश दिएका थिए । यद्यपि, मेक्सिको र क्यानडामाथिको २५ प्रतिशत ट्यारिफ योजना ३० दिनसम्म स्थगित गर्ने उनले बताएका छन् ।
तर, डोनाल्ड ट्रम्पले चीनलाई कुनै छुट दिएका छैनन् र उनले युरोपियन युनियनमाथि पनि ट्यारिफ लगाउने कुरा उल्लेख गरेका छन् । चीनले पनि जवाफी कदमस्वरूप अमेरिकी सामानमाथि कर लगाउने चेतावनी दिएको छ, जसले गर्दा आगामी दिनमा ‘ट्यारिफ वार’ (भन्सार युद्ध) को आशंका बढेको छ ।
सुन सुरक्षित लगानी हो
सुनको मूल्य वृद्धिको अर्को मुख्य कारण भनेको विश्वभरका केन्द्रीय बैंकहरू सुन किनिरहेका छन् । डलरसँग तुलना गर्दा नेपाली रुपैयाँ कमजोर हुनु, साथै मध्यपूर्व र रूस–युक्रेन युद्धका कारण पनि सुनलाई सुरक्षित लगानीको रूपमा हेरिएको छ ।
अर्थशास्त्री प्रोफेसर अरुण कुमार भन्छन्, “डलर आफैंमा एक मजबुत मुद्राका रूपमा चिनिन्छ । सन् २००७ देखि २००९ को आर्थिक मन्दीका बेला डलरको मूल्य तीव्र रूपमा बढेको थियो, तर अन्य मुद्राहरू कमजोर भएका थिए । डलर र सुनलाई यस्तो सम्पत्ति मानिन्छ, जुन सजिलै कमजोर हुँदैन ।” उनी थप्छन्, “रुपैयाँको मूल्य घट्दै गएको छ, त्यसैले लगानीकर्ताहरू डलर र सुनको दिशामा आकर्षित भइरहेका छन् ।”
डलर इन्डेक्समा पनि तीव्र वृद्धि देखिएको छ, जुन हालसालै १०९ को स्तर पार गरिसकेको छ । यसको मतलब डलरको मजबुतीले सुनसहित सम्पूर्ण कमोडिटी बजारमा असर पारेको छ ।
प्रोफेसर अरुण कुमार भन्छन्, “रुपैयाँ अन्य मुद्राहरूको तुलनामा खासै कमजोर भएको छैन, तर डलरको तुलनामा गिरावट आएको हो । पाउन्ड वा अन्य मुद्रासँग तुलना गर्दा रुपैयाँ स्थिर नै छ ।”
के अहिले सुनमा लगानी गर्नुपर्छ ?
विश्वको शेयर र कमोडिटी बजारमा जसरी अनिश्चितता देखिएको छ, त्यसरी नै धेरै जानकारहरू भविष्यमा सुनको मूल्यवृद्धि वा गिरावटबारे निश्चित छैनन् । विज्ञहरूका अनुसार एकमुष्ट लगानी गर्नुको सट्टा प्रत्येक गिरावटमा सुन किन्ने रणनीति अपनाउनु राम्रो हुन्छ ।
त्यसैले दीर्घकालीन लगानी गर्नेका लागि गोल्ड ईटीएफ र सोभरेन गोल्ड फण्ड राम्रो विकल्प हुन सक्छन् । उनले भन्छन्, “फिजिकल गोल्ड पनि एउटा विकल्प हो, तर खरिदकर्ताले मेकिंग चार्ज र भण्डारण खर्चको ध्यान दिनुपर्छ ।”
उनका अनुसार विश्वभर विभिन्न देशहरूमा अस्थिरता देखिएको छ, साथै मुद्रास्फीति (महँगी) पनि असर गरिरहेको छ । यस्तो अवस्थामा सुनको मूल्यमा वृद्धि जारी रहने सम्भावना छ, तर यो एकतर्फी हुने छैन । बीच–बीचमा गिरावट आउने भएकाले लगानीकर्ताहरूले खरिदको अवसर पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्