काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा चार कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन् । वैशाख महिनामा होटल तथा पर्यटन क्षेत्रअन्तर्गत डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड र केटीएम हस्पिटालिटी लिमिटेडले आवेदन दर्ता गराएका हुन्।
डोलेश्वरले १६ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ भने यसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। त्यस्तै, केटीएम हस्पिटालिटी लिमिटेडले १५ लाख ५० हजार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ, जसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
उत्पादन तथा प्रशोधन क्षेत्रतर्फ भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा १५ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। कम्पनीले प्रति सेयर २३३ रुपैयाँ (प्रिमियमसहित) मा आईपीओ जारी गर्ने प्रस्ताव गरेको छ र यसको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
त्यसैगरी, एशियन कन्क्रिटो लिमिटेडले १० लाख ६२ हजार ५ सय कित्ता साधारण सेयर निष्कासनका लागि आवेदन दिएको छ। यस कम्पनीको बिक्री प्रबन्धक पनि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नै रहेको छ।
हाल सेबोनको पाइपलाइनमा कुल ४४ करोड २१ लाख ७२ हजार १३२ कित्ता सेयर निष्कासन प्रक्रियामा रहेका छन्, जसको कुल मूल्य ६६ अर्ब २३ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबर रहेको छ। बोर्डले कम्पनीहरूले पेश गरेका कागजात तथा वित्तीय विवरणहरूको अध्ययनपछि मापदण्ड पूरा भएमा मात्रै अन्तिम अनुमति प्रदान गर्नेछ।












प्रतिक्रिया दिनुहोस्