Skip to content

फ्रान्समा आन्दोलन, ३० हजारभन्दा बढी हवाई यात्रु प्रभावित

nabil bank

एजेन्सी । फ्रान्सका एयर ट्राफिक कन्ट्रोलको दुईदिने हडतालका कारण ३० हजारभन्दा बढी यात्रुहरूको यात्रा योजना प्रभावित भएको छ । बिहीबार र शुक्रबार भएको यस हडतालले फ्रान्सभित्रका साथै युरोपका अन्य देशहरूका उडानहरूमा समेत गम्भीर असर पारेको छ ।

बजेट एयरलाइन रायनएयरले १७० भन्दा बढी उडान रद्द गर्नु परेको बताएको छ । यसबाट मात्र ३० हजारभन्दा बढी यात्रुको बिदाको योजना अवरुद्ध भएको कम्पनीले जनाएको छ । फ्रान्सका दुई मजदुर संघहरूले कार्यस्थितिको सुधारको माग गर्दै हडताल आह्वान गरेका थिए ।

पेरिसका मुख्य विमानस्थलहरूमा २५ प्रतिशत र नाइस विमानस्थलमा ५० प्रतिशत उडान रद्द गरिएका छन् । फ्रान्सका यातायातमन्त्री फिलिप टाबारोटले हडताललाई अस्वीकार्य भन्दै कडा आलोचना गरेका छन् । “मानिसहरू बिदामा निस्कँदै गर्दा यस्तो समयमा हडताल गर्नु गैरजिम्मेवारपूर्ण हो,” उनले भने ।

रायन एयरका प्रमुख कार्यकारी माइकल ओ’लियरीले हवाइ यातायात नियन्त्रणकर्ताहरूले युरोपेली परिवारहरूलाई बन्धक बनाएको आरोप लगाएका छन् । उनले भने, “फ्रान्सको हवाई क्षेत्रमा भएको हडतालले केवल फ्रान्स जाने आउनै होइन, युकेको लागि, आयरल्याण्ड, स्पेन र ग्रिस जस्ता देशहरूका लागि गइरहेका विमानहरूलाई पनि असर गरेको छ, यो अन्यायपूर्ण र अविवेकी छ ।” उनले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयेनलाई हस्तक्षेप गर्न आग्रह गर्दै हडतालका बेला न्यूनतम सेवा सुनिश्चित गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

फ्रान्सको नागरिक उड्डयन निकायले देशभरका विभिन्न विमानस्थलमा उडान तालिका घटाउन एयरलाइन्सहरूलाई आग्रह गरेको छ । शुक्रबार पेरिसका चाल्र्स दे गोल, ओर्ली र बोभे विमानस्थलहरूमा ४० प्रतिशतसम्म उडानहरू प्रभावित हुने अनुमान गरिएको छ ।

युरोपको अग्रणी हवाई संस्था एयरलाइन्स फर युरोपले हडताललाई सहनै नसक्ने भनेको छ र यो बिदाको चटारोको समयमा यात्रुहरूका लागि ठूलो समस्या बन्ने चेतावनी दिएको छ । सस्तो हवाई सेवा दिने अर्काे कम्पनी ईजीजेटले पनि हडतालप्रति गहिरो निराशा व्यक्त गरेको छ र समाधान खोज्न आग्रह गरेको छ ।

रायनएयरले हालैको मध्यपूर्वको द्वन्द्वका कारण गत महिना मात्रै ८०० भन्दा बढी उडान रद्द गर्नुपरेको जनाएको छ । यद्यपि, कम्पनीले जुन महिनामा १ लाख ९ हजारभन्दा बढी उडान सञ्चालन गरेको र रद्द भएका उडानहरू १ प्रतिशतभन्दा कम रहेको दाबी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime