काठमाडौं । असार २२ गतेदेखि निष्कासनमा ल्याएको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको ग्लोबल आइएमई समुन्नत योजना २ को एकाइ खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ ।
सो योजनाको एकाइ खरिदका लागि छिटो अवधि असार २५ गतेभित्र मागबमोजिम आवेदन नपरेकाले ढिलो अवधि साउन ४ गतेसम्म निष्कासन गर्न लागिएको हो ।
क्यापिटलले प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यका १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड एकाइ बिक्रीमा ल्याएको हो । ग्लोबल आइएमई म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।
कुल १२ करोड एकाइको १५ प्रतिशत एकाइमध्ये १ दशमलव ५ प्रतिशत अर्थात् १८ लाख एकाइ योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई र १३ दशमलव ५० प्रतिशत अर्थात् १ करोड ६२ लाख इकाई बीज पुँजीको रुपमा राखी बाँकी रहेको १० करोड २० लाख एकाइ सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
सो योजनमा न्यूनतम १०० देखि १ करोड २० लाख एकाइसम्म माग गर्दै आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको एकाइ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
बिक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयर अनलाइनमार्फतसमेत आवेदन दिन सकिने व्यवस्था छ ।






प्रतिक्रिया दिनुहोस्