Skip to content

‘जेनजी’को प्रदर्शनका क्रममा भएको क्षतिको न्यायिक छानबिन गर्ने मन्त्रिपरिषद्को निर्णय

nabil bank

काठमाडौं । सरकारले जेनजी युवाले सोमबार आयोजना गरेको प्रदर्शनमा भएको जनधनको क्षतिको न्यायिक छानबिन गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सो घटनाको न्यायिक छानबिन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार सोमबारको प्रदर्शनमा ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचारको प्रबन्ध स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

जेनजी युवाको शान्तिपूर्ण प्रदर्शनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यका साथ घुसपैठ गर्दै उछृङ्खल कार्यमा संलग्न भई मानवीय एवं सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने अराजक एवं स्वार्थ समूहको पहिचान गर्न न्यायिक छानबिन समिति गठन गरिने सरकारका प्रवक्तासमेत रहेका गुरुङले जानकारी दिए । सरकारले जेनजी युवालाई प्रदर्शनलगायत विरोधका कार्यक्रम स्थगित गरी शान्तिसुरक्षाको प्रबन्ध गर्ने कार्यमा सहयोग गर्न आग्रहसमेत गरेको छ ।

बैठकले सोमबारको प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष निकाल्दै उचित छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने निष्कर्ष निकालेको उनले बताए । शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भई अराजक र प्रतिगामी हर्कत भएको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारकोतर्फबाट सोमबारको घटनामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उल्लेख गरे ।

यस्तै, सरकारले निष्क्रिय गराएका सामाजिक सञ्जाल सञ्चालनका लागि आवश्यक प्रक्रिया मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जिम्मा दिएको छ । मन्त्री गुरुङले निष्क्रय भएका सामाजिक सञ्जाल पुनःसञ्चालनमा आएको जानकारी दिए।

मन्त्रिपरिषद् निर्णयलगत्तै सामाजिक सञ्जाल सञ्चालनमा आइसकेको उनले बताए । यही भदौ १९ गतेदेखि देशभर सूचीकरण नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय गराइएको थियो ।

झण्डै डेढ वर्षदेखि सामाजिक सञ्जाल सूचीकरणका लागि पटकपटक छलफल भएको जनाउँदै गुरुङले सरकारकोतर्फबाट आग्रह गरिएको भए पनि उनीहरूले अस्वीकार गर्दै आएको अवस्थामा बाध्यात्मक परिस्थितिका कारण निष्क्रिय बनाउने निर्णय गरिएको उल्लेख गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi