काठमाडौं । जेनजी आन्दोलनका कारण भएको विध्वंशको समयमा बन्द भएका सबै कार्यालय, तथा निकाय खुले पनि सेयर बजार भने बन्द नै राखिएको छ ।
आन्दोलनको समयमा अर्थात् भदौ २७ गते नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले भदौ २ गतेदेखि असोज २ गतेसम्मका लागि बजार बन्द रहने भन्दै सूचना जारी गरिसकेको छ ।
त्यो समयमा आन्दोलन भएका कारण बजार बन्द गरेको भए पनि अहिले सबै सञ्चालनमा आएपछि सेयर बजार पनि सञ्चालन गर्न सकिने नेप्सेका अधिकारीहरु बताउँछन् ।
नेप्से यतिबेला बजार सञ्चालनका लागि धितोपत्र बोर्डको निर्देशन पर्खेर बसेको छ । बोर्डको निर्देशनमा बन्द गरेको बजार बोर्डको निर्देशनमा मात्रै नेप्सेले खोल्न सक्छ । बोर्डले निर्देशन आएको खण्डमा बजार खोल्न कुनै समस्या नरहेको नेप्सेका अधिकारीहरु बताउँछन् ।
बजार खोल्नका लागि आवश्यक पूर्वाधारहरुमा डाटा सेन्टर, बैंकिङ, ब्रोकर, सिडिएससी, ब्रोकर कम्पनी इन्टरनेट हो । अहिले यी सबै ठिकै रहेको बताइएको छ।
‘२७ गते विषम परिस्थितिका कारण आवत जावत बन्द हुँदा एक साताका लागि बजार बन्द गरेको हो’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘सेबोनले बजार खोल्न निर्देशन दियो भने हामीलाई कुनै समस्या छैन । अहिलेसम्म सबै ठिक अवस्थामा छ ।’
अहिलेसम्म कुनै ब्रोकर कम्पनी केही समस्या भएको जानकारी आएको नआएको पराजुलीले बताए । यता स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले ब्रोकरको मुख्य कार्यालयमा कतै पनि समस्या नरहेको बताए ।
यद्यपि ४८ नम्बर ब्रोकरको पोखराको शाखामा भने तोडफोड भएको बताए । अध्यक्ष ढकालले सबैले क्षेत्र पुरानै अवस्थामा कार्यालय खोल्न थालेका कारण बजार पनि क्रमैसँग खोल्न पर्ने बताए । ‘अब बजारलाई खोल्नुपर्छ’ उनले भने ‘बजार बन्द हुँदा लगानीकर्तामा राम्रो प्रभाव नपर्ने, लगानीकर्ताको विश्वास कम हुन सक्छ ।’
जेनजी आन्दोलनको कारण ब्रोकरको एउटा शाखामा क्षति भएपनि अनलाइनबाट कारोबार गर्ने हुँदा त्यसले कुनै समस्या नपर्ने बताइन्छ । बजार खोल्ने वा बन्द गरिरहने विषयमा सम्पर्क गर्न खोज्दा धितोपत्र बोर्डका अधिकारी सम्पर्कमा आउन चाहेनन् ।
यता लगानीकर्ताहरुले बजार तत्काल खोल्न माग गरेका छन् । तत्कालिन समयमा बजार बन्द भए पनि अब भने बजार बन्द गरेर लगानीकर्ताको सम्पत्ति बन्धक बनाउन नहुने लगानीकर्ताको दाबी छ ।






प्रतिक्रिया दिनुहोस्