Skip to content
Prabhu

जलविद्युत् छ तर बत्ती बल्दैन

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा बस्न बाध्य छन् । वर्षौंदेखि यहाँस्थित लघु जलविद्युत्को भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा घटेपछि अन्धकारमा बस्न बाध्य हुन् ।

पानीको बहान कम हुँदै गएपछि विद्युत् उत्पादन कम पनि घटेको बताइएको छ । यतिबेला स्थानीयलाई एउटा चिम (बल्ब) बल्न पनि मुस्किल परेको छ । साथै वडा कार्यालयबाट सेवा प्रवाहमासमेत समस्या हुँदै आएको छ । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा बाढीले नहर बगाइदिँदा स्थानीय मारमा पर्दै आएका छन् ।

विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित बन्दै आएको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । जलविद्युत् भए पनि रातमा अन्धकारमा बस्नुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको उनको भनाइ छ ।

‘वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यब सबै इलेक्ट्रोनिक सामान छन् तर विद्युत् आपूर्ति नहुँदा हस्तलिखित सेवा प्रवाह गर्नु पर्ने बाध्यता छ’, वडाध्यक्ष छन्त्यालले भने, आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो र छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनु परेको छ ।’

जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुग्दा सयौँ नागरिकले समस्या खेप्नु परेको वडध्यक्ष छन्त्यालले बताए । ‘यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीनवटै बस्तीमा तीन वटा साना लघु जलविद्युत् छन् । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तिसमेत बाल्न गाह्रो हुने गरेको छ’, उनले भने ।

नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्री वनमा छ किलोवाटको बराहथानखोला लघु जल विद्युत् आयोजना सञ्चालनमा रहेका वडध्यक्ष छन्त्यालले जानकारी दिए। यी सबै आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।

‘अहिले एक घण्टा ड्याममा पानी जम्मा गर्ने, एक घण्टा विद्युत् बाल्ने गरिरहेका छौँ । यसरी काम गर्दा सेवाग्रही निकै मर्कामा परेका छन् । बर्खामा खोला उर्लेर आउँछ, नहर र ‘पावर हाउस’ बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ । हिउँदमा खोला ह्वात्तै घट्ने हुँदा पानी पुग्दैन’, वडध्यक्ष छन्त्यालले भने, ‘सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने, घटना दर्ता गर्नुपर्ने हुन्छ । बिजुली नआएपछि हस्तलिखितमार्फत काम गरिरहेका छौँ । प्रविधिको विकास भए पनि केन्द्रीय प्रसारण लाइन नपुग्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।’

अति आवश्यक काम कम्प्युटरमार्फत गर्नु परे विद्युत् गृहमा फोन गरेर एकरदुई घण्टा लाइन मागेर छिटोछिटो काम गर्नुपर्ने स्थिति रहेको वडध्यक्ष छन्त्यालको भनाइ छ । यस वडामा २५० घरधुरीका करिब पन्ध्र सय जनसङ्ख्या रहेको उनले जानकारी दिए ।

यहाँ रहेको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको वडध्यक्ष छन्त्यालले बताए । विद्युत् आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर यतिकै थन्क्याउनु परेको उनको भनाइ छ । हिउँदमा बिहान एक घण्टा र बेलुकी तीन घण्टा बत्ती मात्रै बाल्न सकिने छन्त्यालले बताए ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले नर्जाखानी गाउँमा अघिल्लो वर्ष नै म्याग्दीबाट केन्द्रीय प्रसारण लाइन ल्याउने योजना बनाइएको भन्दै बजेट अभावका कारण कार्यान्वयन नभएको बताए। यस वर्ष नर्जाखानीसहित तमानखोलाका सबै वडामा लाइन पुर्‍याउनका लागि ठेक्का आह्वान प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

आगामी असोजरकात्तिकसम्म नर्जाखानीमा केन्द्रीय लाइन पुर्‍याउने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिए । ‘अहिले ठेक्का आह्वान प्रक्रियाको काम भइरहेको छ । अघिल्लो वर्षको बजेटले धेरै काम भए पनि नर्जाखानीसम्म केन्द्री लाइन पुर्‍याउन सकिएन’, उनले भने, ‘सो ठाउँमा म्याग्दीबाट ल्याउने योजना बनाइएकामा विविध कारणले कार्यान्वयन भएन । यस वर्ष बागलुङबाट लैजाने गरी काम भइरहेको छ । नयाँ ठेक्का लागेसँगै असोज÷कात्तिकसम्ममा विद्युत् पुग्छ ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal