Skip to content

सानोदुम्माका ९० प्रतिशत नागरिक विद्युत्को पहुँचमा

nabil bank

भोजपुर । पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका करिब ९० प्रतिशत नागरिक अहिले केन्द्रीय विद्युत्को पहुँचमा पुगेका छन् । भौगोलिक रूपमा विकट मानिने यस वडामा स्थानीय तहको पहलमा घरघरमा बत्ती बलेको हो ।

वडाध्यक्ष बोमप्रसाद राईका अनुसार विद्युत् विस्तारको शून्य अवस्थाबाट सुरु गरिएको अभियान अहिले अन्तिम चरणमा पुगेको छ । ‘दुई बस्तीका ११ घरमा मात्र बत्ती पुग्न बाँकी छ । ती घरमा पनि चाँडै जडान गरिने तयारी भइरहेको छ’, उनले भने ।

केही दुर्गम बस्तीमा पोल र तारको अभावमा विद्युत् विस्तारमा ढिलाइ भएको वडाध्यक्ष राईको भनाइ छ । बाँकी रहेका घरमा पनि विद्युत् विस्तार गरी वडालाई ‘पूर्ण उज्यालो वडा’ घोषणा गर्ने लक्ष्य राखिएको छ ।

विद्युत् विस्तारसँगै वर्षौंदेखि टुकी र सोलारमा निर्भर रहँदै आएका स्थानीयले सहजता अनुभव गरेका छन् । ‘अब अँध्यारो हटेको छ’, स्थानीय हर्कराज राईले भने, ‘गाउँमै टेलिभिजन, इन्टरनेट चलाउन सकेका छौँ ।’ अब सूचना तथा सञ्चारको पहुँच विस्तारसँगै गाउँलेले देशविदेशको खबर र सूचना सजिलै थाहा पाउने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime