Skip to content

शुक्लाफाँटाका मुक्तकमैया व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै

nabil bank

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ प्रविधिमा तरकारीखेती गर्न थालेका छन् । परम्परागत रूपमा खेती गर्दै आएका मुक्तकमैया परिवारलाई मुक्तकमैया महिला विकास मञ्च धनगढीले मल्चिङ प्रविधिमा तरकारीखेती गर्न सिकाएको हो ।

तरकारीखेतीमा संलग्न २५ मुक्तकमैया परिवारलाई मल्चिङ प्लाष्टिकसँगै खेती गर्ने तौरतरिका सिकाउने कार्य गरिएको मञ्चका निवर्तमान अध्यक्ष कौशिला चौधरीले बताए।

‘प्राविधिकको व्यवस्था गरी मुक्तकमैया परिवारको आयस्तरमा सुधार ल्याउन आधुनिक तरिकाले तरकारीखेती गर्न सिकाएका छौँ’, उनले भने, ‘बीउविजन, रासायनिक मल, कीटनासक, ढुसीनासक विषादी अनुदानमा उपलब्ध गराएका छौँ।’

यस प्रविधिबाट तरकारीखेती गर्न थालेपछि पहिलेको जस्तो रोग कीरा, झारपातको समस्याबाट मुक्ति पाइएको स्थानीय किसान स्वस्तिमा चौधरीले बताए । ‘माटो चिस्यान राख्नका लागि यो प्रविधि सक्षम छ’, उनले भने, ‘अधिकांश तरकारीखेतीमा संलग्न परिवारले तीन वर्षदेखि खुर्सानी, गोलभेँडा र सिमला मिर्चखेतीका लागि मल्चिङ प्रविधिको प्रयोग गर्दै आएका छन् ।’

यस प्रविधिबाट गरिएको खेतीबाट परम्परागत विधिभन्दा दोब्बर बढी उत्पादन हुन थालेको उनको भनाइ छ । उनका अनुसार एकै किसानले विगतमा मुस्किलले सिजनमा ५० हजारदेखि ७० हजार रूपैयाँसम्मको तरकारी बिक्री गर्दथे भने हाल यस प्रविधिको प्रयोग हुन थालेपछि रु दुई लाखदेखि पाँच लाखसम्मको तरकारी बिक्री गर्न थालेका छन् ।

नगरपालिकाको कृषि विकास शाखाका अधिकृत विनयराज जोशीले पछिल्ला वर्षमा किसानबीच मल्चिङ प्लाष्टिकको प्रयोग तीव्र रूपमा बढ्दै गएको बताए । तरकारी खेतीमा संलग्न मुक्तकमैया परिवारले यस प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढाउन सफल भएको उनको भनाइ छ ।

‘यो प्रविधिले माटोको आद्र्रता जोगाउने, झारपात नियन्त्रण गर्ने र बालीको उत्पादन वृद्धि गर्ने उद्देश्य राख्छ’, उनले भने, ‘मल्चिङ प्लाष्टिकले माटोमा रहेका पानीको वाष्पीकरण हुन दिँदैन, जसले बालीलाई लामो समयसम्म आवश्यक नमी उपलब्ध गराउँछ । यसले सिँचाइको आवश्यकता घटाउँछ र पानीको सदुपयोग सुनिश्चित गर्छ।’

उनका अनुसार सूर्यको प्रकाश माटोसम्म नपुग्दा झारपात उम्रन पाउँदैन, जसले श्रम र लागत दुवै घटाउँछ । यो प्रविधिले माटोको तापक्रम सन्तुलनमा राखी बिरुवा स्वस्थ राख्ने, माटोबाट सर्ने रोग र कीराको जोखिम घटाउने तथा रासायनिक विषादीको प्रयोगमा कमी ल्याउने कार्य पनि गर्छ ।

यस प्रविधि किसानका लागि निकै उपयोगी रहेको चर्चा गर्नुहुँदै उहाँले मल्चिङले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउँछ र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्याउने बताए ।

मञ्चकी अध्यक्ष सीमा चौधरीका अनुसार मञ्चले विगत पाँच वर्षदेखि मुक्तकमैया समुदायका महिलाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तरकारीखेती, बङ्गुरपालन र कुखुरापालनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुई दिनअघि मात्र तरकारीखेतीमा संलग्न १६ जना मुक्तकमैयालाई मल्चिङमा प्रयोग हुने प्लाष्टिक पूर्ण अनुदानमा उपलब्ध गराइएको बताए ।

वडाध्यक्ष बहादुरसिंह महरा थोरै जग्गामा व्यावसायिक खेती गरेर मुक्तकमैया परिवार आत्मनिर्भर बन्दै गएकामा खुसी व्यक्त गरे । ‘पहिले अधिकांश मुक्तकमैया परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दथे’, उनले भने, ‘अहिले कोही आधुनिक तरिकाले तरकारीखेती गर्छन, कोही सीपमा आधारित कार्य गरेर आम्दानी गर्दै आएका छन्, वडाबाट पनि व्यावसायिक कार्य गर्ने मुक्तकमैया परिवारलाई प्रोत्साहित गर्दै आएका छौँ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi