Skip to content

डढेलोले पोखरा विमानस्थल बन्द, दैनिक तीन हजारभन्दा बढी यात्रु प्रभावित

काठमाडौँ । पछिल्ला केही दिनयता मुलुकभर डढेलो लाग्दा वातावरण प्रभावित बनेको छ । डढेलोकै कारण केही दिन अगाडि मात्रै काठमाडौँ उपत्यकाको वायू प्रदूषण उच्च तहसम्म पुगेको थियो । काठमाडौँ मात्रै होइन डढेलोका कारण मुलुकका विभिन्न स्थान प्रभावित भएका छन् ।
डढेलोकै कारण वायु प्रदूषण हुँदा पछिल्लो एक सातादेखि पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन सकेको छैन । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार डढेलोका  कारण पोखराको आकाशमा लागेको धुँवाका कारण विमान उडान र अवतरण हुन सकेका  छैनन् ।
“पोखरा विमानस्थलमा विमान अवतरणका लागि कम्तीमा ३५०० मिटरको भिजिविलिटी आवश्यक हुन्छ, तर अहिले दैनिक २ हजारभन्दा बढी हुन सकेको छैन”, उनले भने, “डढेलोका कारण भिजिविलिटी कम हुँदा दैनिक उडान प्रभावित भएका छन् ।”  उनका अनुसार बुद्ध एयरले मात्रै दैनिक काठमाडौँ–पोखरा–काठमाडौँमा ३४ वटा उडान गर्र्दै आएको छ । त्यसबाहेक भैरहवा–पोखरा–भैरहवा, भरतपुर–पोखरा–भरतपुर र नेपालगञ्ज–पोखरा–नेपालगञ्जमा पनि दैनिक एउटा/एउटा उडान भइरहेको छ । तर डढेलो कारण यी सबै उडान प्रभावित भएका छन् ।
यति  एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले पोखराबाट उडानका लागि १५ सयदेखि २ हजार मिटर भिजिविलिटी हुने भए पनि अवतरणका लागि ३५ सयदेखि ३७ सय मिटर आवश्यक पर्ने भएको उडान प्रभावित भएको बताए । उनका अनुसार हाल यति एयरलाइन्सले हाल काठमाडौँ–पोखरा–काठमाडौँमा २२ वटा उडान गरिरहेको छ । तर डढेलो कारण धुँवा भरिएपछि पोखराका उडान प्रभावित भएका छन् ।
“चार/पाँच दिनपछि गत आइतबार दिउँसो १/२ वटा उडान भए पनि त्यसपछि कुनै पनि हवाई उडान हुन नसकेको अवस्था छ”, उनले भने, “पानी नपर्दा र हावा नलाग्दासम्म भिजिविलिटीको समस्या समाधान हुँदैन ।”
काठमाडौँ–पोखरा–काठमाडौँ रुटमा श्री एयरलाइन्सले पनि दैनिक ४ वटा उडान गर्दै आएको छ । त्यसबाहेक पोखराबाट जोमसोमका लागि पनि उडान हुने गरेको छ । यी सबै उडान प्रभावित हुँदा करिब तीन हजार यात्रु प्रभावित भएका छन् ।
पर्यटनको राजधानी समेत रहेको पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य हो । काठमाडौँ, चितवनलगायतका स्थानबाट पोखरा  जान सडक मार्ग समेत  सहज नभएको अवस्थामा हवाई मार्ग समेत अवरुद्ध हुँदा पोखराको पर्यटनमा यसको सोझो असर परेको व्यवसायीहरु बताउँछन् । पर्यटक आउने मार्ग नै बन्द भएपछि पोखराको पर्यटन बजार प्रभावित भएको छ ।
पछिल्लो मुलुकका विभिन्न स्थानमा लागेको डढेलोका कारण केही व्यक्तिको ज्यान  गएको छ भने अर्घाखाँचीमा  मानव बस्तीमा सल्कँदा तीन दर्जन घर र गोठ समेत जलेका छन् । डढेलोका कारण  काठमाडौँको वायूमा नकारात्मक असर समेत परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal