Skip to content
Prabhu

१ लाख बिमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बिमा गराएका एक लाख बिमितको कार्ड जारी गर्न लागिएको जनाइएको छ । महानगरका अनुसार सबैभन्दा धेरै बिमित वडा नं १५ मा छन् ।

कार्ड जारी भएसँगै बिमितले पाउने स्वास्थ्य उपचार सेवा सुरु हुने स्वास्थ्य बिमा कार्यक्रमका स्थानीय स्रोत व्यक्ति कमलप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार अहिले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं २६ लैनचौर, वडा नं १४ कलङ्की, वडा नं १९ कङ्केश्वरी र वडा नं ३० ज्ञानेश्वरका स्वास्थ्य प्रवर्द्धन केन्द्र बिमा बोर्डमा सूचीकृत छन् ।

बिमितले छानेका यी केन्द्र सुरुआती सम्पर्क बिन्दु हुन् । उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरिन्छ । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालमा पठाइने स्थानीय स्रोत व्यक्ति भट्टराईले जानकारी दिए । यसरी प्रदान गरिने उपचार सेवा अनलाइन प्रणालीमा आधारित हुनेछन् । बिमा बोर्डले आफूले रकम भुक्तानी गर्नुपर्ने बिरामीको स्वास्थ्य उपचार र अवस्थाबारे अनलाइन प्रणालीबाट सूचना तथा विवरण थाहा पाउनेछ ।

यस कार्यक्रममा बिमा गरेको प्रतिपाँच जना परिवारलाई एउटा एकाइ मानेर एक वर्षमा १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा प्राप्त हुनेछ । सो बराबरको रकम बिमा बोर्डले कामपाअन्तर्गत रहेका प्रवर्द्धन केन्द्रलाई शोध भर्ना गर्ने छ । कामपाले प्रमुख बालेन शाहको अध्यक्षतामा सात सदस्यीय स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन गरेको छ ।

समितिले स्वास्थ्य संस्थाहरुमा उपकरण, प्रयोगशालाको सेवामा निरन्तता, स्तरोन्नति र पूर्वाधार अभिवृद्धिमा सहयोग, स्वास्थ्य सेवा प्रदायक संस्थामा सेवाको गुणस्तर वृद्धि गर्ने, गराउने, कार्यक्रम बिस्तार गर्न प्रवर्द्धनात्मक कार्यमा सहयोग काम गर्ने संयोजन समितिको काम हो । समितिले, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी र परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याउन नियमावलीले तोकेबमोजिम प्रिमियमको व्यवस्था गरेर कार्यक्रममा आबद्ध गर्ने छ ।

त्यस्तै, अति गरिब परिवारलाई कार्यक्रममा आबद्ध गर्न पालिका र बोर्डबीच समझदारी गर्नेछ । नसर्ने रोगका लागि कार्यक्रमले दिइ आएको सुविधा उपलब्ध गराउन वा वृद्धि गर्न बोर्डसँग साझेदारी गर्नेछ । कामपाले बिमितको कार्ड हरेक तीन महिनामा जारी गर्ने जनाएको छ ।

सूचीकृत भएकाबाहेक अन्य सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुको पूर्वाधार निर्माण (प्रयोगशाला, औषधिलगायत), जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको प्राप्तिका काम भइरहेको कामपाको भनाइ छ ।

सेवा सञ्चालनका लागि स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले मापदण्ड तोकेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal