काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ३६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले साउन र भदौ महिनामा पेट्रोलियम पदार्थ आयातका लागि मात्रै ३६ अर्ब ९७ करोड ६१ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो । नेपालले आयात गरेको इन्धन दुई महिनामा नेपालले पूरै निर्यात गरेर आर्जन गरेको रकम भन्दा निकै धेरै हो ।
नेपालबाट चालु आवको दुई महिनामा जम्मा २५ अर्ब ५३ करोड १० लाख रुपैयाँको वस्तु निर्यात भएको छ । आयातमूखि अर्थतन्त्र भएको हाम्रो नेपालले पेट्रोलियन पदार्थको आयात मात्रै धान्न सक्ने निर्यात पनि गर्न नसकेको तथ्यांकले देखाएको हो । नेपालले निर्यात गरेर आर्जन गरेको रकमभन्दा इन्धन आयात गर्नका लागि खर्च भएको रकम ११ अर्ब ४४ करोड ५१ लाख रुपैयाँ बढी हो ।
चालु आवको भदौ महिनामा ११ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार १३१ किलोलिटर पेट्रोल आयात भएको छ । १३ अर्ब ६४ करोड ५२ लाख ५० हजार रुपियाँको १ लाख ४४ हजार ७२४ किलोलिटर डिजेल आयात भएको छ ।
२ महिनाको अवधिमा २ अर्ब ६७ करोड ९७ लाख रुपैयाँ बराबरको २७ हजार ८०९ किलोलिटर हवाई इन्धन आयात भएको भने १४ करोड २७ लाख रुपियाँ बराबरको १ हजार ४५६ किलोलिटर मटितेल आयात भएको छ । यस्तै दुई महिनामा ९ अर्ब ४२ करोड ५६ लाख ८५ हजार रुपैयाँ बराबरको ८८ हजार ५३८ मेट्रिक टन ग्यास आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस्