Skip to content
Prabhu

टिकटक नेपालमा दर्ता, मेटा र एक्सलाई पनि दर्ताका लागि सरकारले लेख्यो पत्र

nabil

काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो ।

यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । टिकटक नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त टिकटकले स्वीकारेको छ । टिकटकमार्फत हुने साइबर अपराध नियन्त्रणमा सघाउन पुर्याउनसमेत टिकटक तयार भएपछि दर्ता भएको हो ।

global
अर्घाखाँची सिमेन्ट

सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो । त्यसपछि सरकार र टिकटकबीच वार्ता भएर गत १९ भदौदेखि प्रतिबन्ध हटेको थियो ।

आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने भएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरुको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि टिकटक तयार भएको छ ।

योसँगै सरकारले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स लगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पात्राचार गरेको छ । सामाजिक सञ्जाल एक्स (ट्विटर)लाई पनि यस्तो पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०का व्यवस्था र टिकटकले नेपालमा दर्ता हुँदा पालना गरेका शर्तलाई जानकारी दिँदै अनुरोधपत्र लेखिएको उनले बताए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal