Skip to content
Prabhu

म्याग्दी र बागलुङ जोड्ने सडक स्तरोन्नति सुरु

nabil

म्याग्दी । मङ्गला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट पूर्वाधार विकास कार्यालयले पहिलो चरणमा मङ्गला गाउँपालिका–३ पखेर–बरङ्जा खण्डको सडक स्तरोन्नतिको काम थालेको हो ।

मङ्गला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर रोकाका अनुसार २०६६ सालमा मार्ग खुलेको मङ्गला–३ र ४ नम्बर वडा तथा बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो।

global
अर्घाखाँची सिमेन्ट

प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट व्यवस्था गरेको यो सडक निर्माणका लागि एनके युनाइटेड जेभीसँग ५ करोड ८६ लाख तीन हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।

गत असारमा ठेक्का सम्झौता भएको यो योजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । पखेरबाट बरङ्जातर्फ तीन किलोमिटर पाँच सय मिटर दूरीमा सडक फराकिलो पार्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने, पानी निकासका निम्ति नाली र पर्खाल निर्माण गरी ग्राभेल तथा केही ठाउँमा ढलान गर्ने योजना रहेको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा दुई करोड रुपैयाँ बजेट विनियोजन गरेको यस आयोजनामा यस वर्ष १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । सरकारले बजेट व्यवस्थापन गरेमा पर्याप्त उपकरण, मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै सडक निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि नवराज कार्कीले बताए ।

प्रदेश सरकारमार्फत पखेर–बरङजासहित म्याग्दीमा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal