Skip to content
Prabhu

सिमेन्ट उत्पादकबीच ‘प्राइस वार’ नगर्ने सहमति, सिमेन्टको मूल्य बढाउने मात्र नीतिले उपभोक्ता मारमा

काठमाडौं । पछिल्लो समय सिमेन्टको मूल्य शतप्रतिशतले बढेको छ । बजारमा अहिले सिमेन्ट प्रतिबोरा ८०० रुपैयाँसम्म पुगेको छ ।

सिमेन्टको मूल्य बढाउनुपर्ने खासै कारण केही नभए पनि सिमेन्ट उद्योगीबीच मूल्यका प्रतिस्पर्धा नगर्ने सहमतिका कारण अहिले मूल्य बढिरहेको छ ।

केही समय अघिसम्म होङ्सी सिमेन्ट र ह्वासिन सिमेन्टले प्राइस वारले गर्दा सस्तोमा सिमेन्ट पाइरहेका थिए । दुई ठूला उत्पादक सहित सिमेन्ट उद्योगीबीच प्राइसवार नगर्ने सहमति भएपछि सिमेन्टको मूल्य बढेको हो ।

केही समय अघिसम्म सिमेन्टको मूल्य बोराको ४०० रुपैयाँसम्ममा बजारमा बिक्री हुने गरेको थियो । तर, अहिले बजारमा सिमेन्टको मूल्य ८०० रुपैयाँ पुगेको छ ।

नेपालमा चिनियाँ लगानीका यी दुई ठूला उद्योग मूल्य बढाउन सहमत भएसँगै सिमेन्टको मूल्य एकैपटक आकसिएको छ ।

एकैपटक शतप्रतिशत सिमेन्टको मूल्य बढ्दा उपभोक्ताको लागत बढ्ने भएको छ । यसको प्रभाव निर्माण क्षेत्रमा पनि परेको छ । निर्माणाधीन आयोजनाको लागतै यसले गर्दा बढ्ने अवस्था सिर्जना भएको निर्माण व्यवसायीहरूको भनाइ छ ।

नेपालमा ठूलो मात्रामा उत्पादन क्षमता भएको होङ्सी र ह्वासिन सिमेन्टले नै मूल्य बढाउने सहमति गर्दा सानो लगानी र धेरै उत्पादन क्षमता भएका उद्योगहरूलाई पनि केही राहत पुगेको छ । तर, समग्रमा उपभोक्ताहरू भने यसको मारमा परेका छन् । जसले गर्दा अहिले सिमेन्ट र रडको मूल्य घटाउनु पर्ने भन्दै निर्माण व्यवसायीहरूले सरकारलाई निरन्तर रूपमा दबाबसमेत दिइरहेका छन् ।

सिमेन्ट र रडको मूल्य बढेका कारण आयोजनाको काम नै ठप्प हुने अवस्था सिर्जना भएको निर्माण क्षेत्रका व्यवसायीहरूको भनाइ छ । व्यवसायीहरूले सरकारको मिलेमतोमै मूल्य बढाइरहेको आरोप लगाएका छन् ।

‘एकातिर निर्माण व्यवसायीले गरेको कामको भुक्तानी नभएको अवस्थामा अहिले सिमेन्ट र रडको मूल्य बढ्दा व्यवसायीहरू हायलकायल भएको अवस्था छ,’ निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने । अहिले सिमेन्ट र रडको मूल्य बढ्नुपर्ने कुनै कारण नभए पनि सरकारको मिलेमतोमा नै मूल्य बढेको उनको आरोप छ ।

निर्माण क्षेत्र मात्रै नभएर व्यक्तिगत भवन निर्माणको पनि लागत बढेको भए पनि उपभोक्ताको हकहितमा काम गर्नेहरूले पनि खासै आवाज नउठाएको उनको गुनासो छ । सिमेन्ट तथा रड उद्योगीहरूले लोडसेडिङको कारण भन्दै १ बारोमा नै सिमेन्टको मूल्य २०० रुपैयाँले बढाएका थिए । त्यस्तै रडको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ ।

‘सरकारले नै निर्माण व्यवसायीमाथि प्रहार गरिरहेको अवस्था छ । निर्माण व्यवसायीको आवाज कसैले पनि सुनेन्,’ अध्यक्ष सिंहले भने । एक पटक २०० देखि २५० रुपैयाँसम्म सिमेन्टको मूल्य वृद्धि हुँदा पनि राज्य मुकदर्शक भएको उनको आरोप छ । ‘मिलेमतोमा उत्पादन कटौती गरेर राज्य नै कालोबजारीमा संलग्न भएको छ । यसले निर्माण व्यवसायीहरूले विद्रोह गर्नुपर्ने अवस्था सिर्जना गरेको छ,’ अध्यक्ष सिहंले भने ।

त्यस्तै सिमेन्टमा प्रतिबोरा २०० रुपैयाँ र रडमा प्रतिकिलो १५ रुपैयाँ मूल्य बढाइएको भन्दै यसले समग्र निर्माण क्षेत्रका परियोजनाको बजेट र समय सीमामा गम्भीर प्रभाव पर्ने निर्माण व्यवसायी निकोलश पाण्डेको भनाइ छ ।

पछिल्लो समय भएको मूल्य वृद्धि कानुनको उल्लंघन गरेर मिलेमतोमा भएको उनको आरोप छ ‘प्रतिस्पर्धा प्रबद्र्धन ऐन, २०६३ को दफा ३ र ४ अनुसार यस्ता अभ्यासहरू मूल्य मिलेमतो र बजार हेरफेरसम्बन्धी प्रतिस्पर्धा विरोधी कानुनहरूको उल्लंघन मानिन सक्छ,’ उनले भने, ‘यदि यी मूल्य वृद्धिहरू उत्पादकहरूको समिन्वित कार्यहरूको परिणाम हुन भने प्रतिस्पर्धा प्रबद्र्धन तथा बजार संरक्षण बोर्डले यसमा हस्तक्षेप गरी अनुसन्धान गरी दोषी पक्षलाई कारबाही गर्न अधिकार राख्छ ।’

उनले यो समस्याले निर्माण उद्योगमा निष्पक्ष र पारदर्शी मूल्य निर्धारणको आवश्यकता देखाएको बताए । यस्ता विषयमा सबै सरोकारवाला (व्यवसायीहरू) बीचको एकता नै समस्या समाधान र निर्माण क्षेत्रमा दिगो तथा प्रतिस्पर्धी बजार वातावरण सुनिश्चित गर्न महत्वपूर्ण हुने उनको भनाइ छ ।

व्यवसायीहरूले भनेको प्रतिबोरा ६५० रुपैयाँ मूल्य सिमेन्ट उद्योगबाटै होलसेलनमा उठाउँदाको मूल्य हो । अहिले बजारमा खद्रा रुपमा सिमेन्ट किन्ने उपभोक्ताले भने एक बोरा सिमेन्टको ८०० रुपैयाँ तिर्नु परिरहेको छ । सिमेन्टको मूल्य एकैपटक अचाक्ली आकासिदा पनि सरकारले भने खासै ध्यान दिएको छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Sanima relance

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal