एजेन्सी । चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको १४५ प्रतिशतको ट्यारिफको जवाफमा बोइङ विमानको आपूर्ति रोरेको छ । चीनले आफ्ना आन्तरिक वायुसेवाहरुलाई बोइङ कम्पनीबाट थप विमान नलिन निर्देशन दिएको छ ।
दुई ठूला अर्थतन्त्रबीच तीव्र बन्दै गएको व्यापारिक द्वन्द्वले विश्वको एयरोस्पेस उद्योगमा हलचल ल्याएको छ । बोइङ कम्पनीको सेयर मूल्य समाचार सार्वजनिक भएलगत्तै २ प्रतिशतले घटेको छ । चीन बोइङका लागि सबैभन्दा ठूला वृद्धि बजारमध्ये एक हो, तर त्यहाँ यूरोपियन प्रतिद्वन्द्वी एयरबसको प्रभुत्व कायम छ ।
एयर चाइना, चाइना ईस्टर्न एयरलाइन्स, र चाइना सदर्न एयरलाइन्सले सन् २०२५ देखि २०२७ भित्र क्रमशः ४५, ५३, र ८१ वटा बोइङ विमान लिने योजना बनाएका थिए । तर अब ती सबै आपूर्ति रोकिएका छन् ।
चीन सरकारले अमेरिकी कम्पनीहरूसँगको अन्य हवाई उपकरण तथा पार्टपुर्जाको खरिद पनि रोक्न निर्देशन दिएको छ । जसले चीनमा सञ्चालनमा रहेका बोइङ विमानहरूको मर्मत खर्चमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ ।
बोइङ विमान लिजमा चलाइरहेका चिनियाँ वायुसेवाहरुलाई बढ्दो लागतसँग जुध्न सहायता दिन सकिने विषयमा पनि सरकार छलफलमा रहेको ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ ।
यसअघि पनि चीनले सन् २०१८ र २०१९ का दुई घातक दुर्घटनापछि बोइङको ७३७ म्याक्स विमान सर्वप्रथम ग्राउन्ड गरेको थियो । त्यसयता अधिकांश अर्डर तथा डेलिभरीहरू रोकिएका छन् ।
पछिल्लो समय बोइङ कम्पनी श्रम संघर्ष, कडिएका नियामक नियमहरू, आपूर्ति शृङ्खलाका अवरोध, र नयाँ विमानको ढोका फाट्नेजस्ता समस्याबाट गुज्रिरहेको अवस्थामा यो थप ठूलो झटका हो ।
चीनको यो कदम अमेरिकी आयातमा १२५ प्रतिशतसम्मको ट्यारिफ बढाउने पछिल्लो निर्णयको सन्दर्भमा आएको हो । जसले बोइङ विमानको लागत अत्यधिक बढाउनेछ र एयरबस वा चिनियाँ निर्माता कोम्याक जस्ता वैकल्पिक विकल्पतर्फ वायुसेवाहरू मोडिन सक्ने संकेत दिएको छ ।
विश्लेषकहरूका अनुसार यस्ता क्रियाकलापले अमेरिका–चीनबीचको ६५० अर्ब डलरभन्दा माथिको वार्षिक व्यापारलाई समेत संकटमा पार्न सक्ने खतरा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्