काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाफा साढे ४ अर्ब नाघेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको यस्तो नाफा गत आवको सोहि अवधिको भन्दा ३८.६१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा ३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.६५ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २२.२६ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ४ करोडबाट घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ। जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ९४ पैसा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ पैसा रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ । बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्