काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी तथा संरचनागत सुधारहरु भइरहेको र त्यसको परिणामस्वरुप पछिल्लो दिनमा अर्थतन्त्रका समस्त सूचकहरु सकारात्मक भएको बताए । उनले अर्थतन्त्रमा सुधार आइरहेको र आगामी आर्थिक वर्षको बजेट पनि सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने जानकारी दिए । अर्थमन्त्री पौडेलले अर्थ कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार नीति तथा कार्यक्रमका विषयमा योजना आयोगबाट प्राप्त प्रतिवेदन स्वागत गर्दै यसले बजेट निर्माणलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले मुलुक अहिले राजनीतिक स्थायित्वतर्फ अग्रसर भइसकेको छ र अस्थिरता सिर्जना गर्ने प्रयासहरू असफल हुने दाबी गरे । ‘हामी सरकार टिकाउनकै लागि मात्र स्थायित्व खोजिरहेका छैनौं, यस स्थायित्वको उद्देश्य संविधानको प्रभावकारी कार्यान्वयन, आर्थिक र सामाजिक क्षेत्रमा सुधार र परिवर्तन ल्याउनु हो,’ पौडेलले भने ।
योजना आयोगका उपाध्यक्ष अधिकारीले मन्त्रालयहरुबीचको समन्वय र आगामी आर्थिक वर्षको बजेट बनाउन सहज होस् भन्ने उद्धेश्यले मन्त्रालय, निकाय र आयोगसँग व्यापक परामर्श र छलफल गरी प्रतिवेदन तयार पारेको बताए । ‘राजस्वमा उल्लेखनीय वृद्धि हुन नसकेको वर्तमान अवस्थामा खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रतिवेदन तयार गरिएको हो । विगतका भुक्तानीलाई प्राथमिकता दिने, अपुरा तथा अधुरा आयोजनामा जोड दिने र राजस्वको अन्य सम्भावनाहरु खोज्ने कुरा समेटिएको छ,’ उनले भने ।
उनका अनुसार प्रतिवेदन तयार गर्दा ‘फिस्कल स्पेस’ (राजस्व–व्ययको सम्भावित अन्तर) अत्यन्तै सीमित देखिएको छ । ‘फिस्कल स्पेस नीतिबाट विस्तार वा संकुचन हुने कुरा हो, हामीले विस्तार गर्ने नीतिहरूमा छलफल गरेका छौं। प्राथमिकता निर्धारण र मन्त्रालयहरूबीच समन्वय बढाउन सकेमा पनि फिस्कल स्पेसमा सुधार आउन सक्छ,’ अधिकारीले भने ।
प्रतिक्रिया दिनुहोस्