काठमाडौं । २०६४ साल वैशाख ७ गते वाणिज्य बैंकको रूपमा औपचारिक रूपमा स्थापना भई वित्तीय सेवा क्षेत्रमा उत्कृष्टता स्थापित गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज २०८२ साल वैशाख ७ गते १८औं वार्षिकोत्सव मनाएको छ। १८ वर्षको यस यात्रामा बैंकले निरन्तर सेवा विस्तार गर्दै १८ लाख ७९ हजार ग्राहकहरूलाई विविध वित्तीय सेवामा पहुँच र्पुयाउन सफल भएको छ ।
सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालय सञ्चालन गर्दै आएको बैंकले हालसम्म २०० वटा शाखा कार्यालयहरू मार्फत सेवा प्रदान गरिरहेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब २ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ भने १ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरिएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले सातै प्रदेशमा एकसाथ ९२१ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमले आम नागरिकमा वित्तीय चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘रक्तदान नै जीवनदान’ भन्ने नारालाई आत्मसात् गर्दै बैंकले नेपाल रेडक्रस सोसाइटी तथा हिमाल हस्पिटलको सहकार्यमा सातै प्रदेशका ३३ शाखाहरूबाट करिब ९१३ जनाको सहभागितामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। यस कार्यक्रमले देशभर निरन्तर देखिने रक्त अभावलाई केही हदसम्म सम्बोधन गर्ने विश्वास बैंकले लिएको छ ।
डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै ब्रिक बैंकिङ टु क्लिक बैंकिङ भन्ने अवधारणालाई आत्मसात गर्दै सिटिजन्स बैंकले प्रविधिमा आधारित नविनतम सेवा सुरु गरेको छ। सिटिजन्स मोबाइल बैंकिङ मार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा संचालनमा ल्याइएको छ । जसबाट ग्राहकहरूले अफलाइन मोडमै पाँच हजार रुपैयाँसम्मको भुक्तानी सहज रूपमा गर्न सक्छन्।
त्यस्तै, बैंकले नेपालमै पहिलोपटक क्रस बैंक टेलर क्यूआर प्रणालीको सुरुआत गरेको छ। यस सेवामार्फत अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स शाखामा गई आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी तुरुन्तै नगद भुक्तानी लिन सक्नेछन्। यसले ग्राहकहरूलाई छिटो, सुरक्षित र सजिलो सेवा अनुभव गराउने लक्ष्य राखिएको छ।
बैंकले वार्षिकोत्सवकै अवसर पारेर ‘सेभ लोकल, अर्न ग्लोबल सिटिजन्स फ्रील्यान्सर सेभिङ अकाउन्ट’ भन्ने नारासहित नयाँ प्रकारको बचत खाता सार्वजनिक गरेको छ। विशेष गरी फ्रील्यान्सरहरूको आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको यो खाताबाट ग्राहकले नेपाली रुपैयाँ र अमेरिकी डलर दुवैमा खाता खोल्न सक्ने सुविधा पाउँछन्।
यस खातामा उच्च ब्याजदरका साथै, पहिलो वर्षका लागि २५ हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा, ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड र डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ।
प्रतिक्रिया दिनुहोस्